युनाईटेड खबर संवाददाता
पोखरा, १२ साउन। पोखरा महानगरपालिका–१४ छिनेडाँडाबाट करिब २३ ग्रामभन्दा बढी प्रतिबन्धित लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन) र ठूलो परिमाणमा नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त प्रहरी टोलीले साउन १२ गते साँझ करिब ५:३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा:
मनोज कुमार मग्राती (३३ वर्ष): स्थायी घर भोजपुर ट्याम्के गाउँपालिका–६ भई हाल पोखरा–१४ शुभकामना टोल बस्दै आएका।
बिश्वास पुन (३७ वर्ष): स्थायी घर म्याग्दी अन्नपूर्ण गाउँपालिका–५ भई हाल पोखरा–१० मिलनटोल बस्दै आएका।
प्रहरीले उनीहरूको साथबाट प्लास्टिकसहित तौल गर्दा २३ ग्राम ९३ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ, नगद रु. २,८१,५०० (दुई लाख एकासी हजार पाँच सय) र ४ थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।




