पोखरा महानगरको चौमासिक बैठक, स्वच्छ प्रणालीको विकास गरिने -मेयर जिसी

पोखरा ९ पौष ।

पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले वडाहरुले खेप्दै आएको आर्थिक व्यवस्थापनको समस्या केहि दिनभित्रै समाधान हुने बताएका छन् । महालेखा परिक्षकको कार्यालय र राष्ट्र बैंकले महानगरका वडाहरुमा खाता सन्चालनको अनुमति दिई सकेकाले विगतको जस्तो समस्या नहुने मेयर जिसीले बताए ।

बिहीबार महानगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को प्रथम चौमासिक प्रगति समिक्षा बैठकलाइ सम्बोधन गर्दै मेयर जिसीले स्वच्छ प्रणालीको विकास गरी वडा कार्यालयहरुका समस्या समाधान गर्ने कार्यमा आँफू लागिपरेको बताए ।

उनले शुसासनको प्रत्याभूत हुने गरी काम गर्न वडा अध्यक्ष र सचिवहरुलाई आग्रह समेत गरे । जिसीले जन अपेक्षा अनुरुप काम गर्न वडा अध्यक्ष र सचिवहरुलाइ निर्देशन दिए ।
कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जनताका काममा भएको ढिलासुस्तीमा प्रशासनलाइ मात्र दोष दिन नहुने बताए । बजेट बनिसकेपछि मात्र आफू पोखरा महानगरमा नियुक्त भएको भन्दै बरालले समस्याको पहिचान गरेर निकास दिनेगरी काम गर्ने बताए । कर्मचारी र जनप्रतिनिधिको साझा लक्ष जनताको सेवा नै भएकाले एक भएर अगाडी बढ्नुपर्ने बरालले उल्लेख गरे । कतिपय अवस्थामा एउटा कर्मचारीले हेरिरहेको फाईल अरु कर्मचारीले हेर्न नमिल्ने भएकाले पनि विदा वा अन्य कुनै कारण कर्मचारी उपस्थित हुन नसक्ने अवस्थामा सेवाग्राहीको काममा ढिलाइ हुन सक्ने उनको भनाई थियो ।

पोखरा महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष डा. आर सी लामिछानेले विकास जहिलेपनि चलायमान हुने भएकाले भोलीका सन्ततीहरुले याद गर्ने किसिमको विकास आजको आवस्यकता भएको औँल्याए । त्यसका निमित्त सबै वडाहरुका समस्या सुन्नका लागि समीक्षा बैठकको अभ्यास गरिएको उनले बताए ।

समीक्षा बैठकमा पोखरा महानगरका ३३ वटै वडाका वडा अध्यक्ष र सचिवहरुले चार महिनाको अवधिमा गरेका कामको प्रगति विवरण प्रस्तुत गरे । उनीहरुले आफ्नो वडामा निर्माण भईरहेका भौतिक पूर्वाधारका कामहरु बाटोघाटो, विजुली, खानेपानी, पुल पुलेसा विकास निर्माणका कामहरुबारे अवगत गराएका थिए । कोरोना भाईरस संक्रमणका कारण विकासका काममा सोचेजस्तो प्रगति हुन नसकेको उनीहरुको भनाई थियो ।

उनीहरुले वडाको विकास बजेट अपुग भएको, खाता सन्चालन नहुँदा उधारोमा धेरै काम गर्नु परेको गुनासो गरे । खासगरी गाउविकास समितिबाट सिधै पोखरा महानगरमा गाभिएका वडाहरुले विकास बजेट थोरै भएको, जन अपेक्षा अनुसार काम हुन नसकेकोजस्ता समस्या सुनाएका थिए । चुनावमा आँफूले गरेका बाचाहरु पूरा नहुने हुन् कि भन्ने चिन्ता बढ्न थालेको उनीहरुको भनाई थियो ।

शहरी योजना आयोगका उपाध्यक्ष डा. आरसी लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सरोज कोईरालाले धन्यबाद मन्तव्य व्यक्त गरेका थिए भने सदस्य आर्किटेक्ट बाबुराम भण्डारीले सञ्चालन गरेका थिए ।

फोटो समावेश छ ।

Advertisment