युनाईटेड खबर, पोखरा। नेवारी संस्कृतिको ऐतिहासिक एवं सांस्कृतिक धरोहरका रूपमा रहेको ताया:मचा नृत्यको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यका साथ पोखरामा २७ औं जिल्ला स्तरीय ताया:मचा नृत्य प्रतियोगिता २०८३ आयोजना हुने भएको छ।
नेवा: खल: कास्कीको आह्वान तथा लामाचौर नेवा: खल: गुठी कास्कीको आयोजनामा यो प्रतियोगिता सम्पन्न हुन गइरहेको हो। “परम्पराको सम्मान: सभ्य समाजको पहिचान” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको तयारीबारे विस्तृत जानकारी दिन दीप गार्डेन रेस्टुरेन्ट, पोखरा-१६ (के.आई.सिंह पुल) मा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो।
कार्यक्रममा बोल्दै नेवा: खल: कास्कीका अध्यक्ष अशोक पालिखेले पोखरामा नेवा: संस्कृति र परम्परालाई जीवन्त राख्न ताया:मचा नृत्यले ठूलो योगदान पुर्याएको बताउनुभयो। ताया:मचा नृत्यले स्थानीय समुदायमा सांस्कृतिक जागरण र उत्साह थपेको उल्लेख गर्दै उहाँले यस प्रकारका प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नो मौलिक हकसहितको संस्कृति जोगाउन प्रेरित गर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा लामाचौर नेवा: खल: कास्कीका अध्यक्ष भीमबहादुर श्रेष्ठ लगायतका अतिथिहरूले मन्तव्य राख्दै प्रतियोगिताको सफलताको लागि शुभकामना मन्तब्य दिनुभएको थियो ।
प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न ताया:मचा नृत्य प्रतियोगिता २०८३ मूल समारोह समितिका संयोजक सुशिल कुमार श्रेष्ठको संयोजकत्वमा तयारी तीव्र पारिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।




