देउवा सरकारकाे सातै प्रदेश प्रमुख हटाउने तयारी

काठमाडौं । केपी ओलीले प्रधानमन्त्री हुँदा नियुक्त गरेका प्रदेश प्रमुख हटाउने गृहकार्य सुरु भएको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएर भागबण्डाका आधारमा नियुक्त गर्ने प्रयास भइरहेको छ । गठबन्धनका नेताहरुले ७ साउनमै प्रदेश प्रमुख परिवर्तन गर्न खोजेका थिए ।

मुख्यतः लुम्बिनी प्रदेशको सरकार निर्माणका लागि गठबन्धले पहिला प्रदेश प्रमुख फेर्न खोजेको हो । ७ वटै प्रदेशका प्रमुख फेर्ने कि लुम्बिनीको प्रदेश प्रमुखलाई मात्रै फेरेर मुख्यमन्त्री शंकर पोखरेलको सरकार ढाल्ने भन्नेमा पनि छलफल चलिरहेको छ । गठबन्धन स्रोतका अनुसार तत्काल लुम्बिनी मात्रै चलाउने र मुख्यमन्त्री मन्त्री फेर्ने प्रयास भइरहेको छ ।

त्यसमा गण्डकी प्रदेशको प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचनलाई लुम्बिनीको प्रदेश प्रमुख बनाउने चर्चा पनि सुरु भएको छ । केपी ओलीले अपमानजनक ढंगले प्रदेश प्रमुखबाट हटाएको भन्दै शेरचनलाई सम्मानका लागि पनि लुम्बिनीको प्रदेश प्रमुख बनाउने प्रयास भएको छ ।

लुम्बिनीका कांग्रेस नेता डिल्ली चौधरीदेखि माओवादीका कुलप्रसाद केसीसम्मका नेताहरुको दौड अहिले प्रदेश प्रमुख हटाउने र मुख्यमन्त्री पोखरेललाई ढाल्ने रणनीतिमा रहेका छन् । जसपाको आधिकारिकताको विवाद टुंगो लागेपछि लुम्बिनीको सरकारमा रहेका जसपाका सांसदहरुको भूमिका पनि निक्र्योल हुनेछ । त्यसैले पनि पोखरेल नेतृत्वको सरकारको आयु धेरै लामो भने देखिदैन् ।

अहिले गठबन्धनभित्र कांग्रेस, माओवादी र माधव नेपाल पक्षले २/२ वटा र जसपाले १ वटा प्रदेश प्रमुख पाउने गरी भागबण्डा गर्न खोजिरहेका छन् । माधव नेपाल पक्ष सरकारमा सहभागी अवस्थामा त्यसरी भागबण्डाको समीकरण बनाउने प्रयास भएको हो । नेपाल एमालेमै मिलेको अवस्थामा भने कांग्रेस र माओवादीले ३/३ र जसपालाई एक वटा भाग लगाएर नियुक्त गर्ने तयारी भइरहेको छ ।
त्यसो त, माधव नेपाल एमालेमा नफर्किएको अवस्थामा प्रदेश प्रमुखमात्र होइन, मन्त्री पनि ७ वटा सम्म दिन सकिने गबठन्धनका नेताहरुले भनेका छन् । नियुक्त गर्न बाँकी र फिर्ता बोलाइने केही राजदूतसहित रिक्त हुने संख्यामा पनि भागबण्डा गरेर उचित संख्या नेपाल पक्षले पाउनेछ । (साँघु साप्ताहिक, २०७८ साउन ११ गते )

Advertisment