पोखरा, ५ बैशाख,
तमु प्ये ल्हु संघ युकेको एक टोलीले क्होला सोँप्रे ट्हो -क्होलासोंथर) को अध्ययन एवम अवलोकन गर्ने भएको छ ।
तमु जातिको अन्तिम राज्यस्थल र पितृहरूको आत्मा बस्ने पवित्र थलोका रूपमा मानिने क्होला सोँप्रे ट्हो -क्होलासोंथर) को अध्ययन, संरक्षण र अन्तर्राष्ट्रिय पहिचानका लागि ५५ जनाको टोली आइतबार त्यस तर्फ प्रस्थान गर्न लागेको हो । तमु प्ये ल्हु संघ युकेका अध्यक्ष क्याप्टेन डेमबहादुर योज तमुको नेतृत्वमा बैशाख ६ देखि ११ गतेसम्म गरिने भ्रमणमा तमु प्ये ल्हु संघ युकेका पदाधिकारी, महिला समितिका प्रतिनिधी, खेगी गुरुहरु लगायतको सहभागिता रहने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । टोली आइतबार बिहान लम्जुङको भुजुङतर्फ प्रस्थान गर्ने छ । पहिलो दिन भुजुङ बसेर भोलिपल्ट दोस्रो दिन बिहानै भुजुङ देखि ङ्हसिखोँ तर्फ लाग्नेछ । तेस्रो दिन ङ्हसिखोँ देखि क्होला सोँप्रे ट्हो पुग्ने छ । क्होलामा स्थल पुगेर टोलीले त्यहाँको सिमेभुमे र पितृपुर्खाहरूको सम्मानमा छ्योप र थासोँ पूजा गर्नेछ तथा स्थलगत अध्ययन र अवलोकन गर्ने जनाएको छ । भ्रमणको चौथो दिन क्होलाको स्थलगत अध्ययन अवलोकन गरि पाँचौ दिन सिक्लेस फर्किने छ । सिक्लेसमा टोलीले त्यहाँको सिमेभुमे र पितृपुर्खाहरूको सम्मानमा छ्योप र थासोँ पूजा गर्नेछ तथा स्थलगत अध्ययन र अवलोकन गर्ने छ । यसरी भ्रमणको अन्तिम दिन बैशाख ११ गते सिक्लेस देखि पोखरा आइपुग्ने भ्रमण टोलीका सदस्य एवम तमु प्ये ल्हु संघ युकेका सचिव भेग गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा आएपछि एक विशेष सांस्कृतिक समारोह गरिने छ । सोहि कार्यक्रममा स्याङजा, कास्की, गोरखा, तनहुँ। चितवन र नवलपुरका ११ वटा निर्माणधिन क्होँइवोका लागि आर्थिक सहयोग हस्तान्तरण गरिने सचिव गुरुङले बताउनुभयो ।
पदयात्राको क्रममा कठिन भौगोलिक अवस्थालाई ध्यानमा राख्दै टोलीमा स्वास्थ्यकर्मी, प्राथमिक उपचारक र आपतकालीन उद्धारका लागि हेलिकोप्टरसम्मको प्रबन्ध मिलाइएको आयोजकले जनाएको छ । भ्रमणमार्फत विश्वभर रहेका तमु समुदायलाई आफ्नो मौलिक पहिचानसँग जोड्ने तथा क्होला सोँप्रे ट्होलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष ओमबहादुर गुरुङले बताउनुभयो । गुरुङ समुदायको कला, संस्कृति र परम्पराको संरक्षण गर्न सके नेपालको पर्यटन समेत प्रवद्र्धन हुने संघका महासचिव हर्क गुरुङले बताउनुभयो । तमु शास्त्र …पेÚ अनुसार क्होला सोँप्रे ट्हो तमु जातिको अन्तिम राज्यस्थल र पितृहरूको आत्मा बस्ने पवित्र थलो मानिन्छ। सन् २००० तिर क्याम्ब्रिज विश्वविद्यालय र नेपालको पुरातत्व विभागले गरेको उत्खनन क्रममा फेला परेको कोइलाको परीक्षण गर्दा यो स्थल करिब १३ सय वर्ष पुरानो भएको प्रमाणित भएको थियो। तर देशको द्वन्द्वकालीन परिस्थितिका कारण बीचमै रोकिएको उत्खनन कार्यलाई पुनः गति दिन, यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन र राज्यलाई दबाब दिने उद्देश्यले यो भ्रमण तय गरिएको आयोजकले जनाएका छन् ।




