तमु प्ये ल्हु संघ हङकङको टोली द्धारा क्व्होलासोंथरको अध्ययन तथा अवलोकन गरि फर्कियो, विश्व सम्पदा सुचीमा राख्न माग

पोखरा, ५ बैशाख,

तमु प्ये ल्हु संघ हङकङको एक टोली तमु -गुरुङ) समुदायको पुख्र्यौली तथा ऐतिहासिक थलो क्होलासोंथरको अध्ययन तथा अवलोकन गरि फर्किएको छ ।
तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर क्रोम्छैँ तमुको नेतृत्वमा २० जना पदाधिकारी सहभागी टोलीले चैत २५ देखि ३० गतेसम्म संस्कार, संस्कृति र इतिहास संरक्षण गर्ने उद्देश्यसहित क्होला सोँथरको भ्रमण गरेको हो । टोलीले पोखराबाट ताङतिङ, कर्पु डाँडा, लमजुङ, सिङ्दी, तप्रोखर्क र दुधपोखरी हुँदै क्व्होलासोंथरसम्म पदयात्रा गरेको थियो । पुरातात्विक वस्तुहरू लोप हुँदै गएको, ध्वजा, ब्यानर र पोस्टरको व्यवस्थापन आवश्यक देखिएको, आकस्मिक उद्धारका लागि हेलिप्याड निर्माण गर्नुपर्ने र क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्ने टोलीले निष्कर्ष निकालेको छ । पोखरा फर्किएको टोलीले बुधबार पत्रकार सम्मेलन गर्दै क्होलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारसँग माग गरेको छ । तमुहरुको आदिम थलो क्होला सोंथर तमु समुदायको धर्म, संस्कार, संस्कृति,मा आधारित पैतृक तथा एैतिहासिक थलो भएको र यसले तमु समुदायको पहिचान र ईतिहास बोकेको भन्दै यसको संरक्षण गर्न आवश्यक रहेको तमु प्ये ल्हु संघ हङकङका सहसचिव मनोज तेल्मे तमुले बताउनुभयो । यसको संरक्षण र व्यवस्थापनमा स्थानीय तहदेखि केन्द्रसम्मले विशेष निति ल्याएर पहल गर्नुपर्ने उहाँको भनाई छ ।

क्व्होलासोंथर पुगेपछि टोलीले करिब १३ सय वर्ष पुरानो मानिएको तमु बस्तीका अवशेष र २०७२ सालमा निर्मित क्व्होइँवोको अवलोकन गरेको थियो । करिब २०० रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थानको मुकोलामा डेढ सयभन्दा बढी घरका भग्नावशेष फेला परेको टोलीले जनाएको छ। साथै पुर्खाले निर्माण गरेका चौतारा र धर्मशालाका अवशेष पनि भेटिएका छन् । त्यहाँ भेटिएका तच्युद्वा -घोडा बाँध्ने खम्बा), छोँज धीँ -ठूलो घर) र गोलाकार घरका संरचनाले तमु सभ्यताको प्राचीन इतिहास झल्काउने टोलीको निष्कर्ष छ ।

तमु समुदायमा जीवनकालमा एकपटक पुख्र्यौली थलो पुग्नुपर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ। कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद यात्रा सफलतापूर्वक सम्पन्न भएको शाखाका अध्यक्ष मनबहादुर क्रोम्छैँ तमुले बताउनुभयो । यात्राका क्रममा टोलीले ताङतिङस्थित तोनी क्व्होइँवोको अवलोकन गरी आर्थिक सहयोगसमेत प्रदान गरेको जनाएको छ। समुद्री सतहदेखि २ हजार ९ सय १७ मिटर उचाइको सिङ्दीलीको पुख्र्यौली घडेरी र २ हजार ९ सय ८७ मिटर उचाइको खुइँदो डाँडा हुँदै टोली अघि बढेको थियो। त्यसैगरी ३ हजार ३ सय २० मिटर उचाइको चोरो डाँडा र ऐतिहासिक क्रोम्छैँ पोखरी पुगेको टोलीले जनाएको छ ।

उक्त पोखरी पुर्खाको इतिहास र विश्वाससँग जोडिएको कोषाध्यक्ष ठाकुरप्रसाद क्होला तमुले बताए। पोखरी सधैं सफा रहने र चराहरूले समेत पातपतिंगर सफा गर्ने किम्वदन्ती रहेको छ। यात्राकै क्रममा ३ हजार ४ सय ३ मिटर उचाइको नान्दी पोखरीमा माइनस २० डिग्री सेल्सियस र तसा–खलामा माइनस २४ डिग्री सेल्सियससम्म चिसो अनुभव गरिएको टोलीले जनाएको छ । भ्रमणको चौथो र पाँचौँ दिन टोलीले सिक्लेस तथा त्यहाँका विभिन्न क्व्होइँवोहरूको अवलोकन गरेको थियो। सिक्लेसमा सञ्चालित पच्यु, क्ल्हेप्री र वोन्पो चेलाहरूको प्रशिक्षण केन्द्रका लागि संघले आर्थिक सहयोगसमेत हस्तान्तरण गरेको छ । भ्रमण टोलीमा संस्थापक सल्लाहकार रितबहादुर ल्हेगें तमु, पूर्वअध्यक्ष जितेन्द्र योज तमु, कोषाध्यक्ष ठाकुरप्रसाद क्होला तमु, निवर्तमान कोषाध्यक्ष रमा क्होला तमु, सहसचिव मनोज तेल्मे तमु, आमा सदस्य विमला ल्हो तमु, एकजङ प्ल्हे तमु तथा फोटोग्राफर प्रेम प्हच्यु तमु लगायतको सहभागीता थियो । पत्रकार सम्मेलनको सञ्चालन तमु प्ये ल्हु संघ केन्द्रीय महासचिव हर्क गुरुङले गर्नुभएको थियो ।

Advertisment