गाउंपालिकाकाे अनियमितता प्रति कांग्रेसको आपत्ति

पोखरा, ८ भदौ । स्याङ्जाको विरुवा गाउँपालिका भित्र आर्थिक अनियमितता भएकाे भन्दै नेपाली कांग्रेस विरुवाले आपत्ति जनाएको छ । नेपाली कांग्रेस विरुवा गाउँपालिकाका सभापती युवराज केसीले विज्ञप्ती प्रकाशित गरि गाउँपालिकामा भएको आर्थिक अनिमिततामा आपत्ती जनाएका छन् ।
नेपाली कांग्रेस विरुवाले उठाएका समसामयिक विषयवस्तुलाई गाउँपालिकाले राजनैतिक पूर्वाग्रहको संज्ञा दिई सत्यतथ्य लुकाउने प्रयास गरेको जनाएको छ । पालिका भित्र भएका कामहरुमा अपारदर्शिता र अनियमितता भएपछि सत्यतथ्य सार्वजानिक गर्नुपर्नेमा आफ्ना कमिकमजोरीहरुलाई ढाकछोप गरेको समेत नेपाली कांग्रेस विरुवाले आरोप लगाएको छ । पालिकाले गरेका बिकास निर्माण, कोभिड नियन्त्रणका नाममा आर्थिक अनियमितता गरेको कांग्रेसको ठहर छ ।
यसैगरी वडाका बाटोहरु ग्रावेल गर्ने नाममा विनियोजित २५ लाख पनि आर्थिक अनियमितता गरेको साथै म्याङखोला पुल उद्घाटनमा भएको खर्च सार्वजानिक नगरिएको, भञ्ज्याङ विरुवा सडक खण्ड अन्तर्गत देउराली डाँडाको पहिरो नियन्त्रणमा चासो नदिइएको विज्ञप्तीमा उल्लेख गरिएकाे छ । त्यसैगरि विना कार्यविधि युवा स्वरोजगारको नाममा २० लाखको हलो वितरण गर्ने कार्यक्रम वास्तविक किसानलाई नभई पार्टीका कार्यकर्तालाई वितरण गरिएको, सुन्तालाका बेर्ना बाड्ने कार्यक्रम अपारदर्शी ढंगबाट गरिएको विषयमा खोजी गरी तत्काल सार्वजानिक गर्न माग गर्दै गएको असार २८ पनि पालिकामा ज्ञापन पत्र बुझाएको भएपनि त्यसको कुनै सुनुवाई नभएको नेपाली कांग्रेस विरुवा गाउँपालिले जनाएको छ ।
‘आफ्नो कर्तव्यबाट पन्छिदै जनताको हक अधिकारलाई कुल्चदै गाउपालिकाले गरेका यस्ता अनियमितताका कामहरु प्रति हाम्रो घोर आपत्ति छ,’ विज्ञप्तीमा भनिएको छ ।
गाउँपालिका भित्र भए गरेका आर्थिक अनियमितता एवम् अपारदर्शी कार्यहरुको सत्य तथ्य जानकारी गराउन जोडदार माग गर्दै सत्य, तथ्य विवरण सार्वजानिक नगरेको खण्डमा जुनसुकै कदम चाल्न नेपाली कांग्रेस विरुवा बाध्य हुने चेतावनी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति – २०७८/०५/०८

Advertisment