युनाईटेड खबर,पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफू र आफ्नी धर्मपत्नी डा. आरजु राणा देउवा मृत्युको मुखबाट जोगिएर फर्किनुभएको खुलासा गर्नुभएको छ।
शनिबार पोखरामा आयोजित आफू पक्षीय नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय दोस्रो अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले आन्दोलनका क्रममा आफूहरूमाथि भएको सांघातिक आक्रमण, उद्धारको नाटकीय घटनाक्रम र पार्टीभित्रको वर्तमान विवादबारे गम्भीर खुलासा गर्नुभएको हो।
‘हामीलाई मारिसकेका थिए, सेनाको उपचार पाएर बच्यौँ’
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले आफूहरूमाथि भएको प्रहार व्यक्ति विशेषभन्दा पनि नेपाली कांग्रेसको नेतृत्व ध्वस्त पार्ने षड्यन्त्र भएको आरोप लगाउनुभयो। आन्दोलनका क्रममा आफूहरूमाथि कुटपिट हुँदा गम्भीर चोट लागेको र शरीरमा अझै घाउका दागहरू बाँकी रहेको उहाँले बताउनुभयो।
“कहिलेकाहीँ मर्न पनि काल आउनुपर्ने रहेछ। जेनजीका भाइबहिनीहरूले मलाई बचाउनुभएको हो, फोटोमा पनि देखिन्छ ती बच्चाहरूले मलाई बचाएको,” देउवाले भन्नुभयो, “तर जेनजीको आवरण र नाममा ५० वर्षमाथिका व्यक्तिहरूले लाठी ल्याएर पिटेका हुन्, ढुंगामुढा गरे। त्यसमा ठूलो राजनीतिक षड्यन्त्र थियो।”
घटनाको गम्भीरताबारे जानकारी दिँदै उहाँले अगाडि थप्नुभयो, “आरजु र मलाई त मारिसकेका थिए, हामी भाग्यले बाँचेका हौँ। सेनाले उद्धारका लागि हेलिकोप्टरसमेत पठाएको थियो, तर अवतरण गर्न दिइएन। पछि नेपाली सेनाको गाडीमार्फत क्याम्पमा लगियो र त्यहीँ उपचार पाएपछि मात्र हाम्रो ज्यान जोगियो।” त्यस लगत्तै बिदेशका दुई ठाउंमा गई उपचार गरेर आफु पुर्णरुपमा स्वस्थ भएको भएतापनि श्रीमती आरजुको उपचार भईरहेको समेत देउवाले जानकारी गर्नुभयो ।
‘दिवंगत नेताका आश्रममा आक्रमण हुनु कांग्रेस सिध्याउने षड्यन्त्र’
अधिवेशनका क्रममा सभापति देउवाले आन्दोलनका नाममा दलका शीर्ष नेताका निवास तथा ऐतिहासिक विरासत बोकेका पार्टी कार्यालयहरूमाथि भएको आगजनी र तोडफोडप्रति तीव्र असन्तुष्टि जनाउनुभयो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र मन्त्रीहरूमाथि आक्रमण हुनुका साथै कांग्रेसका आदरणीय संस्थापक नेताहरूसँग जोडिएका धरोहरमाथि प्रहार भएको उहाँले उल्लेख गर्नुभयो।
“ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, मेरी श्रीमती मन्त्री हुनुहुन्थ्यो, म र गृहमन्त्री रमेश लेखकमाथि हान्यो, ठिकै छ। तर कृष्णप्रसाद भट्टराईको आश्रममा किन हानेको? बीपीका पिता कृष्णप्रसाद कोइरालाको घर र गणेशमान सिंहको निवासमा किन आक्रमण भयो?” देउवाले प्रश्न गर्नुभयो, “देशभर हाम्रा पार्टी कार्यालयहरू ढालिए। यो व्यक्तिगत रिसिबी मात्र नभई नेपाली कांग्रेसको अस्तित्वविरुद्धको सुनियोजित तानाबाना हो भन्ने बुझ्नुपर्छ।”
तत्कालीन महामन्त्री गगन थापामाथि गम्भीर आरोप
आक्रमणको घटनालाई पार्टीको आन्तरिक राजनीतिसँग जोड्दै सभापति देउवाले महामन्त्री गगन थापामाथि सीधा निशाना साध्नुभयो। आफूविरुद्ध सांघातिक आक्रमण गर्न उक्साउने र निवासमा हमला गर्न अभिव्यक्ति दिने व्यक्तिहरूलाई नै महामन्त्री थापाले गत संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाउनुभएको गम्भीर आरोप देउवाले लगाउनुभयो।
विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न: ‘पार्टी कब्जा गर्न दिइन्न’
कांग्रेसभित्र चुलिँदै गएको महाधिवेशन विवादबारे बोल्नुहुँदै देउवाले विशेष महाधिवेशन बोलाउने प्रक्रिया र यसको वैधानिकतामाथि प्रश्न उठाउनुभएको छ। विशेष महाधिवेशनका लागि विधानतः ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको आधिकारिक हस्ताक्षर आवश्यक पर्ने र त्यसको सनाखत हुनुपर्ने उहाँको तर्क थियो।
“विशेष अधिवेशन गर्न पाइन्छ, विगतमा सुवर्ण शमशेरले पनि गर्नुभएको हो। तर त्यसका लागि ४० प्रतिशतले सहीछाप गरेर सभापतिलाई बुझाउनुपर्छ। त्यो हस्ताक्षर ठीक छ कि छैन, सनाखत कसले गरेको छ? परीक्षण हुनुपर्दैन?” देउवाले भन्नुभयो।
विशेष महाधिवेशनको नाममा जबरजस्ती पार्टी कब्जा गर्ने षड्यन्त्र भइरहेको दाबी गर्नुहुँदै त्यसको सशक्त प्रतिवाद गर्नु आफ्नो कर्तव्य भएको उहाँले बताउनुभयो।
‘पाउनुपर्ने पाइसकेँ, अब देश र लोकतन्त्रका लागि बाँच्छु’
आफ्नो राजनीतिक यात्राको उत्तरार्धमा रहेको संकेत गर्नुहुँदै देउवाले अब आफूलाई कुनै पद वा व्यक्तिगत आकांक्षा नरहेको स्पष्ट पार्नुभयो।
“मैले पाउनुपर्ने सबै पाइसकेँ, मलाई अब केही चाहिएको छैन। पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेकाले अब राष्ट्रलाई दिनुबाहेक मेरो अरू स्वार्थ छैन,” सभापति देउवाले प्रतिबद्धता व्यक्त गर्नुभयो, “मेरो बाँकी जीवन लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्दै देशलाई थप मजबुत बनाउन समर्पित हुनेछ।”




