दशौं राष्ट्रिय खेलकुद सुर्खेतमा, सम्पुर्ण तयारी पुरा

युनाईटेड खबर, पोखरा । दशौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको कर्णाली प्रदेश रङ्गशालामा हुने तय भएको छ भने मुख्य खेलहरू मङ्सिर ८ गतेदेखि नै सुरु हुनेछन्। मङ्सिर २७ गते समापन हुने यो प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न कर्णाली प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) व्यवस्थापनमा जुटेका छन्। पूर्वाधार, आवास, मर्मतसम्भार र प्रचारप्रसारका काम अन्तिम चरणमा पुगेका छन्।

प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र एनआरएनए गरी ११ टोलीको सहभागिता रहनेछ। ३२ खेलका ३८४ इभेन्ट्स समावेश गरिएको यस प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। पदक विजेताका लागि राखेपले नगद पुरस्कारको व्यवस्था गरेको छ, जसअनुसार व्यक्तिगततर्फ स्वर्णलाई रु २० हजार, रजतलाई रु १५ हजार र कास्यलाई रु आठ हजार तथा टोलीतर्फ स्वर्णलाई रु १५ हजार, रजतलाई रु १० हजार र कास्यलाई रु आठ हजार प्रदान गरिनेछ।

खेलहरू सुर्खेतमा २३ खेलसहित सल्यान, दैलेख, कालीकोट र पश्चिम रुकुमका साथै लुम्बिनी प्रदेशको नेपालगन्ज (पौडी र सुटिङ) र बर्दिया (खोखो र टेनिस) मा सञ्चालन हुनेछन्। सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी खटाइनेछ भने नगर तथा खेलस्थलमा २०० भन्दा बढी सीसीटीभी जडान गरिएका छन्। प्रतियोगितामा २५८ अन्तरराष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायकसहित सहयोगी तथा पदाधिकारी परिचालित हुनेछन्। यसअघि नवौँ राष्ट्रिय खेलकुद २०७९ कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो।

Advertisment