मन्त्री थापाको तलबभत्ता जनतालाई ! यस्तो छ खर्च विबरण

चैत १५, पोखरा ।
नेपाली कांग्रेसको तर्फबाट कास्की जिल्ला क्षेत्र नम्बर २ प्रदेश क मा प्रदेश सांसद निर्वाचित गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गर्ने सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गर्नुभएको छ ।

मन्त्री थापाले विकास निर्माण र सामाजिक कार्यमा १४ लाख ८६ हजार ९ सय ७ रुपैयाँ खर्च गर्नुभएको हो । २०७७ साल माघ महिनादेखि २०७८ फागुन मसान्त सम्म बैंक खातामा १३ लाख ६६ हजार ३ सय ६० जम्मा भएको मंगलबार प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उहाँले जानकारी गराउनुभयो । उहाँले तलव भत्ता र सेवा सुविधाको रकममा व्यत्तिगत रकम थप गरी खर्च गर्नुभएको जानकारी दिनुभएको छ ।

खर्च सार्वजनिक गर्दै मन्त्री थापाले राजनीति आफ्ना लागि सेवा भएको र यसलाई पेशाको रुपमा नलिएको बताउनुभयो । ‘राजनीति मेरा लागि सेवा हो । पेशाका रुपमा कदापी लिएको छैन । मेरो व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनलाई समस्या छैन । तसर्थ राजनीतिमा लागेर आर्थिक उपार्जन गर्ने भन्दा पनि निस्वार्थ रुपमा जनताको सेवा गर्नु मेरो मुल ध्येय हो र निर्वाचित भएदेखिनै त्यसैमा प्रतिबद्ध छु ।’, उहाँले भन्नुभयो ।

मन्त्री थापाले आफु प्रदेश सांसद हुँदा होस् या अहिले मन्त्रीका रुपमा सेवा गरिरहँदा होस् प्रदेश सरकारबाट प्राप्त सबै आर्थिक सुविधा विकास निर्माण र सामाजिक कार्यमा लगाएको र प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा समेत नलिएको जानकारी गराउनुभयो । मन्त्री थापाले गण्डकी सरकार प्रदेशको समृद्धि र विकासका लागि प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो ।

कुन शीर्षकमा कति खर्च ?

मन्त्री थापाले पोखरा २१ निर्मलपोखरी स्थित चिलाउने खर्क देखि सुरौदी सम्म ग्रामीण सडक मर्मतका लागि ४७ हजार तीन सय रुपैयाँ सहयोग गर्नुभएको छ । पोखरा ११ का महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि निशुल्क स्वास्थ्य शिविरका लागि उहाँले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । नागरिक परोपकार समन्वय संस्था पोखरा ३२ मा एम्बुलेन्स खरिदका लागि ५५ हजार रुपैयाँ, सिंहनाथ टोल विकास संस्था मोहरियाको बाल गोपाल भवन निर्माणका ५१ हजार रुपैयाँ, पोखरा २० भलाममा प्राकृतिक प्रकोपका कारण क्षतिग्रस्त घर पुर्ननिर्माणका लागि स्थानीय गोपाल परियारलाई १७ हजार ७ सय ९७ रुपैयाँ सहयोग गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मन्त्री थापाका अनुसार जनजागृती आधारभूत विद्यालय पोखरा ३३ मा युरोगार्ड र खानेपानी ट्याङकी खरिदका लागि ५३ हजार रुपैयाँ, पोखरा ८ र ९ का विभिन्न टोल स्थानमा सडक बत्ती (अटोमेटिक लाइट) खरिद र जडानका लागि १ लाख २४ हजार रुपैयाँ, पोखरा १६ स्थित नमूना युवा क्लब, नौधारे युवा क्लब, झुपराङकोट युवा क्लब गल्र्याङ र नवज्योती युवा क्लब कालीमुँडालाई खेलकुद सामाग्री सहयोग शिर्षकमा २८ हजार रुपैयाँ सहयोग गरिएको छ ।

नयाँगाउँ प्रतिभा टोल विकास संस्था पोखरा २५ मा सामाजिक भवन निर्माणका लागि २५ हजार रुपैयाँ, पोखरा २४ स्थित लौरुक युवा क्लब, डाँडापारी युवा क्लब र बाँसकोट युवा क्लबलाई खेलकुद सामाग्री सहयोग शिर्षकमा १७ हजार रुपैयाँ, गन्दर्भ आमा समूह पोखरा १६ लाई भाँडाकुडा लगायतको सहयोग सामाग्री शिर्षकमा २८ हजार रुपैयाँ मन्त्री थापाले सहयोग गर्नुभएको छ ।

पोखरा २० घारी भलाममा खानेपानी पाइपका लागि ३३ हजार रुपैयाँ, अनुशासित आमा समूह पोखरा ३३ का महिला दिदीबहिनीहरुको सीप तथा क्षमता अभिवृद्धि कार्यक्रमका लागि २५ हजार रुपैयाँ, चिसाखोला वेदविद्याश्रमलाई २० हजार रुपैयाँ, सिदार्थ नमूना दिदीबहिनी समूह पोखरा १७ मा कुर्सी र अफिस दराज सहयोग शिर्षकमा २५ हजार रुपैयाँ सहयोग गरेको उहाँले बताउनुभयो ।

यसैगरी मोहरिया परियार समाजलाई लोकबाजा खरिदका लागि ३० हजार रुपैयाँ, पोखरा ३३ स्थित उपल्लोपुँडी, तल्लोपुँडी, ठूलोपाखा, आँपुकसेरी, मालागिरी, बरपौवा, चिसापानी, बरमास्थर, भर्तीपोखरा, सिंगारेबास, जिब्रेढुंगा, सुरताङ, खैरहनी, लाम्गादी र पानीट्याङकीका युवाहरुलाई खेलकुद सामाग्री सहयोग शिर्षकमा ६७ हजार ५ सय रुपैयाँ, पोखरा १६ स्थित तुम्के गल्र्याङमा खानेपानी पाइप सहयोग शिर्षकमा ६५ हजार रुपैयाँ सहयोग गरिएको छ ।

प्रतिभा मार्ग पोखरा ८ मा कन्भेक्स मिरर जडान गर्न १५ हजार रुपैयाँ, पोखरा २० आँटीघर मछाप हात्तिगौँडा समाजको सामाजिक भवन निर्माणका लागि ३० हजार रुपैयाँ, हंशपुर एग्रो फार्म रुपागाउँपालिका ७ मा कृषि सामाग्री सहयोगका लागि १० हजार रुपैयाँ, नवजागरण युवा क्लब पोखरा २८ लाई २० हजार रुपैयाँ आर्थिक सहयोग मन्त्री थापाले गर्नुभएको छ ।

पोखरा २१ की लिलाकुमारी थापालाई कृषि सामाग्री सहयोग शिर्षकमा ३० हजार, सिदार्थ नमूना दिदीबहिनी समूह पोखरा १७ लाई टेबल, कुर्सी, अफिस दराज सहयोग शिर्षकमा २५ हजार रुपैयाँ, श्री विरेन्द्र स्मृति पार्क संरक्षण समिति पोखरा ३ मा पार्क संरक्षण तथा सौन्दर्यकरण गर्न ५ हजार रुपैयाँ, पृथ्वीनारायण क्याम्पस कानून संकायमा अध्ययनरत विद्यार्थी बीच संवैधानिक बहस शिर्षकमा १० हजार रुपैयाँ, मानवअधिकार तथा शान्ति समाज लाई १० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

मन्त्री थापाले जारी गरेको खर्च विवरणमा नयाँबजार युवा क्लब पोखरा ९ लाई खेलकुद सामाग्री सहयोग बापत २१ हजार ८ सय ६० रुपैयाँ उपलब्ध गराइएको छ । यस्तै नेपाल क्योकुशिन कान कराँते संघलाई १० हजार रुपैयाँ, चापाकोट देउराली सामुदायिक होमस्टे पोखरा २३ लाई पूर्वाधार निर्माणका लागि १५ हजार रुपैयाँ, ज्येष्ठ नागरिक सरोकार समाज पोखरा ९ मा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण गर्न १० हजार रुपैयाँ खर्च गरिएको छ ।

पोखरा १६ का अजय गुरुङलाई कृषि सामाग्री सहयोग शिर्षकमा २१ हजार ७ सय रुपैयाँ, परोपकार आमा समूह पोखरा ३२ मा बहुउद्देश्यि भवन निर्माण शिर्षकमा २५ हजार रुपैयाँ, पोखरा ११, १६,२०,२१,२४,३३ मा तारजाली र पाइप खरिद शिर्षकमा २ लाख ५६ हजार रुपैयाँ, टाइगर ग्रुप अफ कपको भलिबल प्रतियोगितालाई २५ हजार रुपैयाँ, पोखरा ८,११,१६ र ९ को शान्तिघाटमा सडकबत्ती र फोकस लाइट खरिदमा १ लाख ४२ हजार ७ सय ५० रुपैयाँ खर्च भएको मन्त्री थापाले जानकारी गराउनुभयो । उहाँले पोखरा ३२ का क्यान्सर बिरामी शिवराज सापकोटालाई १० हजार रुपैयाँ, पोखरा २६ स्थित विजयपुर युवा मञ्चलाई ७ हजार रुपैयाँ र स्टेप अप क्याम्पियन २ लाई सफल पार्न २० हजार रुपैयाँ लगायतका सामाजिक कार्यमा खर्च गर्नुभएको हो ।
कांग्रेस महासमिती सदस्य समेत रहनुभएका मन्त्री बिन्दु कुमार थापाले पत्रकारहरुको जिज्ञासामा आगामी स्थानिय निर्वाचनमा आफु पोखरा महानगरको मेयर पदको आकांक्षी नरहेको स्पष्ट गर्नुहुंदै भन्नुभयो म मेयरको टिकटको लागि दौडमा पनि छैन कांग्रेस पार्टीको सिपाही भएको नाताले पार्टीले दिएको जिम्मेवारी बाट भाग्ने पक्षमा पनि छैन मन्त्री थापाले पोखरा महानगर सभापती सुरेन्द्र बिजुक्छे र जिल्ला सभापति किशोर बराललाई साथै राखेर भन्नुभयो ।
कार्यक्रम प्रेस युनियन कास्की अध्यक्ष नबीन सिग्देलको अध्यक्षता र स्वागत उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा,सन्चालन सचिव प्रदिप पौडेलले गर्नुभएको थियो ।

Advertisment