कामना बैंकमा करोडौंको घोटालाः सीईओ बस्नेतसहित दर्जनौं कर्मचारीबिरुद्ध पक्राउ पुर्जी जारी

मुक्तिनाथ विकास बैंकका प्रबन्धक पनि पक्राउ, सीईओसहितका उच्च कर्मचारीहरु मोवाइल अफ गरी फरार
१० माघ, काठमाडौं । जागीरको अवधि सकिने सकिने बेलामा कामना सेवा विकास बैंकका सीईओलाई ठूलै आपत आईलागेको छ । यही महिनाको अन्तिम तिर आफ्नो चार बर्षे कार्यकाल सकेर बिदा हुन लागेका सीईओ प्रवीण बस्नेतसहित बैंकका दर्जनौ कर्मचारीबिरुद्ध प्रहरीले प्रक्राउ पुर्जी जारी गरेपछि यस्तो आपत आईलागेको हो । ऋण प्रवाह गर्दा चर्को कमिशन खाएर झण्डै ३५ करोड रुपैयाँ घोटाला गरेको प्रमाणित भएपछि बैंकका सीईओसहितका उच्च अधिकारी र शाखा प्रबन्धकसम्मका नाममा प्रक्राउ पुर्जी जारी भएको हो ।
३५ करोड रुपैयाँ बराबरको ऋण प्रवाहमा अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्र पठाएपछि झापास्थित इलाका प्रहरी कार्यालय दमकले बस्नेतसहितका विभिन्न व्यक्तिलाई पक्राउ पूर्जी जारी गरेको हो । प्रहरी स्रोतका अनुसार कर्जा अपचलन भएको विषयमा राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न पत्र पठाएपछि बैंकका सीईओ लगायतका उच्च पदस्त व्यक्तिहरु मोवाइल स्वीच अफ गरी फरार भएका छन् ।

लहरो तान्दा पहरो भेटियो भने झैं कामना सेवा विकास बैंकमा बर्षोदेखि सेटिङ मिलाएर ऋण अपचलन गर्दै आईरहेका सीईओ लगायतका उच्च पदस्त कर्मचारीबिरुद्ध केही सञ्चार माध्याममा समाचार प्रकाशित भएपछि राष्ट्र बैंकले विशेष स्थलगत अध्ययन (ईन्पेक्सन) गरेको थियो । डेढ करोडको एउटा कर्जा घोटाला प्रकरणबारे राष्ट्र बैंकको विशेष इन्सपेक्सनपछि त्यस्ता थुप्रै कर्जाका फाइलहरु कमसल धितो एवं अधिक मूल्याङकनमा प्रवाह गरी बैंकलाई नोक्सान पारेको भेटिएको थियो । विशेष स्थलगत अध्ययन प्रतिवेदनका आधारमा थप कार्वाहीका लागि राष्ट्र बैंकले सीआईबीमा पत्र पठाएसँगै कर्मचारीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । ‘इलाका प्रहरी कार्यालय दमकले पक्राउ पूर्जी जारी गरिसकेको छ जसमा बैंकका उच्च तहका कर्मचारीको पनि नाम छ ।

बैंकले झापाको दमक क्षेत्रमा विभिन्न व्यक्ति तथा कम्पनीको नाममा प्रवाह भएको झण्डै ३५ करोड रुपैयाँ अपचलन गरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । यसरी प्रवाह हुने अधिकांश ऋण बिनाधितोको समेत छ । सोही प्रकरणमा प्रहरीले मुक्तिनाथ विकास बैंकका दमक शाखा प्रबन्धक जीवन भण्डारीलाई समेत पक्राउ गरेको छ । उनी यसअघि कामना सेवा विकास बैंकमा कार्यरत थिए । बैंकका प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राई र शाखा प्रमुख सञ्जिव निरौलालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

राष्ट्र बैंकले कामना सेवा विकास बैंकले झापाको दमक क्षेत्रमा विभिन्न व्यक्ति तथा कम्पनीका नाममा प्रवाह गरेको झण्डै ३५ करोड रुपैयाँ बराबरको कर्जा अपचलन भएको निष्कर्षसहित छानविन गरी कारबाही गर्न सिफारिस गर्दै प्रतिवेदनसहित सीआईबीमा पत्राचार गरेपछि त्यसबारे प्रहरीले लामो समयदेखि अनुसन्धान सुरु गरेको थियो ।
सीआईबी स्रोतका अनुसार कतिपय ऋणहरु बिनाधितो दिइएको छ भने कतिपय ऋण धितोले खाम्नसक्ने अवस्था छैन । त्यस्तै पसल देखाएर दिएको ऋणको अवलोकन गर्न जाँदा उक्त पसल नै अर्काको परेको समेत भेटिएको छ । ‘प्रारम्भिक अनुसन्धान अनुसार भ्यालुएटर र बैंकका कर्मचारी मिलेर नक्कली ऋणी खडा गरी कतिपय ऋणहरु आफैं तलाएको देखिन्छ,’ स्रोतले भन्यो, ‘कतिपय कर्जाका फाइलहरु सीईओकहाँ पनि पुगेका छन् । बैंक उच्च व्यवस्थापनले सतर्कता नअपनाएको देखिन्छ ।’
प्रहरी स्रोतका अनुसार पक्राउ पुर्जी जारी हुनेहरुमा बैंकका सीईओ प्रवीण बस्नेत, डेपुटी सीईओ हरिप्रसाद लम्साल, चीफ बिजनेश अफिसर एवं तथा बिजनेश लोन प्रमुख रघुनाथ त्रिपाठी, कम्पनी सचिव एवं लिगल हेड डण्डपाणी भट्टराई, कर्जा विभाग प्रमुख नितेश अर्याल, जोखिम व्यवस्थापन प्रमुख विकास अधिकारी र अपरेशन प्रमुख राहुल गुप्ता लगायत छन् ।

साभार – नेपाल बहस डट कम बाट

Advertisment