बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकको भिड, कुन मुलुकका कति ?

लक्ष्मण पौडेल

भैरहवा, भदौ ४ गते । बुद्ध जन्मस्थल लुम्बिनी घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको छ । गत वर्षको तुलनामा पर्यटक आगमनमा सुधार देखिएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याएर विदेशी पर्यटक आउने वातावरण बनाउन उनीहरूले माग गरेका छन् ।

कोरोना महामारीपछि लुम्बिनीमा विदेशी पर्यटकको सङ्ख्या शून्यजस्तै थियो । मुलुकको प्रमुख गन्तव्यमा महामारीपछि थलिएको पर्यटनमा अहिले उत्साहजनक सुधार देखिएको छ । लुम्बिनी विकास कोषका अनुसार २०२२ मा लुम्बिनीमा ९६ मुलुकका २३ हजार ९९२ विदेशी पर्यटक आएका थिए । सन् २०२३ को सात महिनामा ६७ मुलका ३६ हजार ९९७ पर्यटक आइसकेका छन्।

सन् २०२१ मा ६८ मुलुकका एक हजार एक सय ९७ विदेशी पर्यटक मात्र यहाँ आएका थिए । यस वर्ष अष्ट्रेलिया, भुटान, कम्बोडिया, क्यानडा, जापान, इटाली र नेदरल्याण्डबाट आउने पर्यटक बढेका छन् । कोषको सूचना शाखाका अनुसार यस वर्षको जुलाईसम्म नेपाली, भारतीय र विदेशी गरी पाँच लाख ६० हजार ३२५ जनाले लुम्बिनी भ्रमण गरिसकेका छन् ।

सन् २०२३ को सात महिनामा तीन लाख ७९ हजार ३६० नेपालीले लुम्बिनी भ्रमण गरेका छन् । यो तथ्याङ्क मायादेवी मन्दिर अवलोकनको गर्नेको मात्र हो । मायादेवी प्रवेश नगरेर फर्किनेको सङ्ख्या गणना गरेमा अझै सङ्ख्या वृद्धि हुने कोषले जनाएको छ । यस अवधिमा एक लाख ४३ हजार ९६८ भारतीयले लुम्बिनी भ्रमण गरेका छन् । सन् २०२२ मा ६ लाख ४९ हजार ७८ नेपाली र दुई लाख ३० हजार ८६३ भारतीयले लुम्बिनी भ्रमण गरेका थिए ।

लुम्बिनी विकास कोषका अनुसार सन् २०२२ मा चीनबाट ४३२ पर्यटक आएका थिए । सन् २०२३ को जुलाईसम्म मात्र चीनबाट दुई हजार पाँच जना आइसकेका छन् । दक्षिण कोरियाबाट सन् २०२२ मा ६१७ जना आएकोमा यस वर्षको सात महिनामा तीन हजार ७२ जना यहाँ आइसकेका छन् । थाइल्याण्ड, श्रीलङ्का र म्यानमारबाट आउनेको सङ्ख्यामा उलेख्य वृद्धि देखिएको छ । सन् २०२२ मा म्यानमारबाट एक हजार ४९५ पर्यटक आएका थिए । यस वर्ष सात महिनामा पाँच हजार ४२४ जना आएका छन् ।

श्रीलङ्काबाट गत वर्ष एक हजार ८८५ पर्यटक आएकामा यस वर्ष अहिलेसम्म ६ हजार २० आएका छन् । थाइल्याण्डबाट गत वर्ष चार हजार ३८० पर्यटक आएकामा यस वर्ष सात महिनामा आठ हजार ४२३ आएका छन् । बुद्ध जन्मस्थल लुम्बिनी मुलुकमा सबैभन्दा धेरै भ्रमण गरिने पर्यटकीय गन्तव्य हो । “पर्यटक धेरै आउनु राम्रो हो,” पर्यटन उद्यमी सञ्जय बजियमले भन्नुभयो, “तर उनीहरूको बसाई अवधि लम्ब्याउने योजना नहुँदा फाइदा लिन सकेका छैनौँ ।”

शान्तिको मुहान लुम्बिनी आउन विदेशी लालायित छन् । अक्टोबरदेखि मार्चसम्म पर्यटकीय सिजन हो । त्यही भएर यो समयमा पर्यटकको बसाइँ लम्ब्याउने योजना बनाउन जरुरी भएको उहाँले बताउनुभयो । धेरै पर्यटकको भ्रमणको रोजाइमा लुम्बिनी पर्न थालेको छ । पर्यटक बढे पनि उनीलाई भुलाउन योजना र कार्यक्रम अभाव छ । बसाइँ अवधि कम छ । “अहिले पनि लुम्बिनीमा पर्यटक बसाइँ अवधि लम्ब्याउन सकेकै छैनौँ,” लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भट्टराईले भन्नुभयो, “पर्यटक भुलाउने कार्यक्रम जरुरी छ ।”

Advertisment