गठबन्धनलाई अझै कसिलो बनाउने : कानुनमन्त्री धनराज गुरुङ

५ माघ, स्याङ्जा ।

सरकारका कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धनलाई अझै कसिलो बनाउन सके पाँच वर्ष अगाडि बढाउने बताएका छन् ।

सत्तापक्षीय गठबन्धन दलतर्फका साझा उम्मेदवारहरूको परिचय एवं मतदाता भेटघाट कार्यक्रमलाई स्याङ्जामा सम्बोधन गर्दै मन्त्री गुरुङले गठबन्धनको महत्व अझै बढ्ने गरी सरकारलाई पाँच वर्ष अगाडि बढाउने बताए ।

“गठबन्धन चानचुने ढङ्गले अगाडि बढेको छैन”, उनले भने, “यो गठबन्धनलाई देख्दा अरुलाई इष्र्या, जलन भएको होला, यतिमामात्रै सीमित हुँदैन यो पाँच वर्षसम्म झनै कसिलो भएर अगाडि बढ्छ ।”

गठबन्धन सरकारले मुलुकलाई अप्ठ्यारो स्थितिबाट सहजतातर्फ ल्याएको दाबी गर्दै उनले मुलुकको समृद्धि र सुशासनका लागि पनि गठबन्धनले निरन्तरता पाउने बताए ।

“कुनै पनि साथीले मत नबिगार्नुहोला, मत हाल्न जानिन भन्न पाइने छैन, त्यसो गरेमा जानीजानी नियत खराब भएर बिगारेको भन्ने बुझिन्छ”, उनले भने, “गठबन्धनका साथीहरूलाई मत दिएर विजयी बनाउनुहोला, एकमतले पनि तलमाथि भएमा केही न केही विचलन ल्याउँछ ।”

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राष्ट्रियसभाको निर्वाचनको परिणम देश र जनताका लागि उपलब्धिपूर्ण बन्नुपर्ने बताउँदै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाको सभापतित्व एवम् नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लोकेन्द्र थापा मगर, नेपाली कांग्रेसका महामन्त्री विष्णु लामिछाने, नेकपा मोअ‍ेवादी केन्द्रका नेता एवम् संविधानसभा सदस्य गुणाखर बस्याल लगायतले बोलेका थिए ।

कार्यक्रममा उम्मेदवारत्रयले संविधानले निर्दिष्ट गरेका अधिकार अनुरुप राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउन आफ्नो उम्मेदवारी भएको बताएका थिए ।

गठबन्धन दलका तर्फबाट गण्डकी प्रदेशका नवलपुर, गोरखा, लम्जुुङ, तनहुँ, स्याङ्जामा मतदाता भेटघाट सम्पन्न गर्दै बाँकी जिल्लामाघ ६ गते म्याग्दी र बाग्लुङ हुँदै आगामी ९ गतेसम्मका लागि कार्यक्रमहरू तय गरिएको नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए।

यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार र नेकपा (माओवादी केन्द्र)बाट मनरुपा शर्मा उम्मेदवार छन् ।

यही माघ २ गते नवलपुरदेखि सुरु भएको प्रचारात्मक अभियान शुक्रबार स्याङ्जा आइपुगेको हो ।

अभियान नवलपुर, गोरखा, लमजुङ, तनहुँ हुँदै शुक्रबार स्याङ्जा आइपुगेको राष्ट्रियसभा सदस्य निर्वाचन व्यवस्थापन उपसमितिका संयोजक विष्णुप्रसाद लामिछानेले बताए ।

उनका अनुसार गण्डकी प्रदेशमा कांग्रेसको दुई हजार सात सय चार, माओवादी केन्द्रको नौ सय ९४, नेकपा (एकीकृत समाजवादी) को ७२, राष्ट्रिय जनमोर्चा नेपालको ५७ मतभार छ ।

गण्डकी प्रदेशमा गठबन्धनको तीन हजार आठ सय २७ मतभार छ भने नेकपा (एमाले)को दुई हजार चार सय ५८ मतभार छ ।

Advertisment