पोखरा । २०/ २२ बर्षको युवा अबस्थामा स्व. प्रबिण गुरुङ लगायतका सिनियर कलाकारसंगको संगतका कारण गीत संगीतको क्षेत्रमा लागेका नबिन गुरुङ त्यसबेलाको चर्चित मध्येको एक लेकाली ब्याण्डका सदस्य हुन। गायन,संगीत र गीत रचना समेत गर्ने नबिनले पनि आफ्नो उमेरको १२/१५ बर्ष लेकाली ब्याण्डमा सक्रिय रहेर गीत संगीतमा बिताए । तर, त्यहि ब्यान्डमा लागेर मात्र जिबन चल्न नसक्ने भएपछि उनि पनि विदेशिए ।
विभिन्न मुलुकमा पुगेर एक दशक बढी काम गरेर स्वदेश फर्केका उनलाई अहिले पनि आफ्नो ब्याण्ड र पोखराको गीत संगीतको क्षेत्रलाई पुरानै अबस्थामा फर्काउने मन छ। तर, उपयुक्त बाताबरण भने पाउन नसकेको बताउछन् र भन्छन, उमेरले ५० काटियो, तर संगीतको रहर मरेको छैन।
नबिन गुरुङकै जस्तो पिडा त्यसबेला सांगीतिक क्षेत्रमा लागेर पहिचान बनाएका र पछिल्लो समय सांगीतिक क्षेत्रमा करिब निष्क्रिय जस्तै बनेका अरुलाई पनि छ। ‘कुनै बेला पोखरा ब्याण्डहरुको राजधानी मानिन्थ्यो, ९० को दशक र त्यसपछि पनि पोखराका ब्याण्डहरुले देश विदेशमा आफ्नो कला तथा गीत संगीत प्रस्तुत गर्न जान समेत भ्याईनभ्याई हुने गर्थ्यो। तर अहिले पोखराको संगीत क्षेत्र सुस्ताएको छ ।
त्यही सुस्ताएको सांगितिक यात्रालाई पुनर्ताजगी गराउन पोखरा कलाकार सांगितिक संघ र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा यही माघ २६ गते पोखरामा ९० का दशकका ७ वटा ब्याण्डले एउटै स्टेजमा सांगितिक प्रस्तुत गर्ने भएको छ ।