यसपटकको निर्बाचनमा दुई प्यानलको बिचमा सिधा चुनाबी प्रतिष्पर्धा हुँदै छ। उमेदवारहरुले बनाएका दुई प्यानलका कारण लेखनाथ क्षेत्रका उद्योगी र ब्यबसायीहरु त विभाजित बनेको छन नै, त्यसबाहेक राजनीतिक रुपमा पनि प्रमुख दुईवटा ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेका नेता र कार्यकर्ताहरु समेत विभाजित बनेका छन। जसका कारण स्थानीय नेताहरुले संघको चुनावलाई प्रतिष्ठाको सवाल बनाएर चुनाबी गतिबिधि संचालन गर्न थालेका छन। पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका कतिपय नेताहरु ब्यबसायीहरुको निम्ति मत माग्दै घरदैलोमा पुग्दै गर्दा कतिपयले भने उद्योग बाणिज्य संघको राजनीतिमा दलका नेताको राजनीति घुसेको भन्दै चिन्ता समेत ब्यक्त गर्न थालेका छन ।
दुईवटा प्यानलबाट अध्यक्ष पदमा प्रतिष्पर्धा गर्नेहरुमा संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र संघका महासचिब जानुका पराजुली अधिकारी रहेका छन। राजेन्द्र र जानुका दुबैले पदाधिकारी एबम कार्यसमितिको सदस्यहरुमा प्यानल नै बनाएर चुनाबी प्रचार प्रसारको कार्यलाई तिब्रता दिईरहेका छन। दुबैले चुनाबी माहौल आफ्नो पक्षमा रहेको दाबि गरिरहेपनि संघका पुर्ब अध्यक्ष एबम अग्रजहरु सहित मतदाताहरुको चाहना बुझ्दा प्रतिष्पर्धाको बिचमा पनि जानुकाको प्यानलले बिजय प्राप्त गर्न सक्ने अनुमान धेरैको छ।
अध्यक्षका प्रतिष्पर्धीहरु जुनियर र सिनियर भन्दा पनि समकालीन
जानुका र राजेन्द्र लेखनाथ उद्योग बाणिज्य संघमा करिब समकालीन हुन। संघको कार्यसमितिको सदस्यमा राजेन्द्रले जिम्मेवारी लिंदै गर्दा जानुका लेखनाथ उद्योग बाणिज्य संघले संचालन गर्ने लेखनाथ महोत्सबको संघसंस्था परिचालन समितिको संयोजक रहेर काम गरेकी थिईन। त्यसपछिका दिनमा उनीहरु दुबैजना संघको गतिविधिमा निरन्तर संगसंगै यात्रा गरिरहेका छन। कतिपयले बरिष्ठ उपाध्यक्ष भएकोले अब अध्यक्ष बन्ने पालो पनि राजेन्द्रको भन्ने गरेको पनि सुनिन्छ, तर दुवैजना समकालीन भएकोले मात्र नभएर महासचिब रहंदा कुशल नेतृत्व क्षमता प्रदर्शन गरेको र लेखनाथ उद्योग बाणिज्य संघले महिलालाई अध्यक्ष बनाएर इतिहास रच्ने अवसर यसपटक प्राप्त गर्ने भएकोले जानुकालाई नै अध्यक्ष बनाउनुपर्ने भन्ने मत पनि उत्तिकै देखिएको छ ।
राजेन्द्रले पदाधिकारीको रुपमा कोषाध्यक्ष, उपाध्यक्ष हुँदै हाल बरिष्ठ उपाध्य्क्षको जिम्मेवारी सम्हालेर अध्यक्षको दौडमा लागेका छन भने जानुकाले पनि कोषाध्यक्ष, उपमहासचिब हुँदै हाल महासचिबको जिम्मेवारी सम्हालेर अबको अध्यक्ष बन्ने दौडमा लागेकी छन। अधिकांश संस्थामा महासचिब पद सदस्यहरुसंग प्रत्यक्ष रुपमा जोडिने र संगठनात्मक हिसाबले पनि अध्यक्ष पछिको महत्वपूर्ण पद मानिन्छ। जसका कारण जानुकाले महासचिब रहेर काम गर्दा संघका सदस्यहरु देखि पूर्व अध्यक्ष एबम अग्रजहरुसंग प्रभावकारी समन्वय गर्न सकेको हालको चुनाबी माहौलले पनि देखाएको छ ।
संस्थाका अग्रजलाई अपमान गर्ने निर्णयका कारण अधिकांश पुर्ब अध्यक्षहरु एकै ठाउँमा
संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कार्माचार्य यसपटक संघका अधिकांश पुर्ब अध्यक्षहरु जानुकाको पक्षमा लागेको अनुभूति आँफुलाई भएको बताउछन । संस्थालाई विधिसम्मत ढंगले संचालन गर्नको लागि महासचिब भैरहंदा जानुकाले प्रभावकारी भूमिका खेलेको महशुश भएको उनको भनाई छ। संस्थामा महत्वपूर्ण योगदान पुर्याएका एबम स्थापनाकालीन सदस्यहरु मध्ये २ सय ६१ जनालाई बर्तमान अध्यक्ष र बरिष्ठ उपाध्यक्ष सहितका केहि साथीहरु मिलेर पुर्बाग्रही ढंगले हटाउने निर्णय गरेका थिए। जानुकाले महासचिबको हैसियतले उक्त निर्णयको बिरोध गर्दै संस्थाका अग्रजहरुलाई अपमान पुर्बक बहिर्गमन गराउन नहुने मत सार्बजनिक गर्दै आएकी थिईन ।
उक्त निर्णयले कतिपय ब्यबसायी र संघका अग्रजहरुको आत्मसम्मानमा चोट पुगेको छ। संघको कार्यसमितिमा रहेर काम गरेकी र हाल पनि ब्यबसाय संचालन गरिरहेकी गीता सुबेदी लगायतका धेरै ब्यबसायीहरुलाई व्यक्तिगत वा राजनीतिक रुपमा शत्रु सम्झेर सदस्यता नै खारेज गर्ने कुराको बिरोधमा संघका सबैजसो पुर्ब अध्यक्षहरुले बर्तमान अध्यक्ष सहित कार्यसमितिको ध्यानाकर्षण गराएका थिए। तर, अध्यक्ष बिनोद श्रेष्ठ र बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा लगायतले पुर्ब अध्यक्ष र कार्यसमितिका बहुमत साथीहरुको आग्रहलाइ समेत बेवास्त गरे। जसका कारण संघमा योगदान दिएका र निरन्तर ब्यबसाय गरिरहेका साथीहरु समेत संघबाट टाढा हुनुपर्ने बाध्यता सिर्जना भएको छ। खारेजीमा परेका सदस्यहरु यतिबेला राजेन्द्रको बिरोध र जानुकाको समर्थनमा उभिएको बताइन्छ।
लेखनाथ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य सहित निबर्तमान अध्यक्ष छत्रधर आत्रेय र पूर्व अध्यक्षहरु चतुराखर अधिकारी, बाबुराम जमरकट्टेल, सुमन भट्टराई, बाबुराम गिरि, कृष्णहरी भण्डारी सहितका पूर्व अध्यक्षहरुको समर्थन जानुका सहित उनको प्यानललाई रहेको बुझिन्छ ।
इतिहास रच्ने र महिलालाई नेतृत्वमा लैजाने अबसर
यसपटकको चुनाबबाट संघले नयाँ इतिहास रच्ने भन्दै केहि ब्यबसायीहरु महिलालाई अध्यक्ष बनाउनुपर्ने पक्षमा पनि देखिएका छन। लेखनाथ उद्योग बाणिज्य संघको २९ बर्षको इतिहासमा पुरुषहरुले मात्र नेतृत्व सम्हालेका छन। केहि महिलाहरु कार्यसमितिको बिभिन्न जिम्मेवारीमा पुगेपनि अध्यक्षको उमेदवार बन्ने अबस्थामा पुग्नको लागि उनीहरुले उपयुक्त बाताबरण नपाउँदा नेतृत्वको लागि प्रतिष्पर्धा समेत गर्ने अबसर मिलेको थिएन। तर, यसपटक उनले आँफुसंगै वा आँफुभन्दा अगाडी संघको कार्यसमितिमा काम गरिरहेका साथीहरुलाई समेत विश्वासमा लिएर उनीहरुलाई पनि आंफ्नो प्यानलमा राखेर अध्यक्षको प्रतिष्पर्धामा जुटेकी छन। हालका प्रथम उपाध्यक्ष बिक्रम कर्माचार्य र संभवत अहिलेका उमेदवारहरु मध्ये सबैभन्दा लामो समय संघमा सक्रिय रहँदै आएका गोपिचन्द्र बाँस्तोलालाई आंफ्नो प्यानलमा राखेर चुनाबी यात्रामा अगाडी बढ्न पाउनु जानुकाको लागि महत्वपूर्ण अबसरको रुपमा पनि लिन सकिन्छ।
नेतृत्व क्षमता र व्यक्तिगत सम्पर्क प्रभावकारी
जानुकाले संघको विभिन्न जिम्मेवारीमा रहंदा आफ्नो नेतृत्व क्षमतालाई कुशलता पुर्बक प्रदर्शन गर्दै आएको कारण उनीप्रति सामान्य मतदाताहरु पनि आकर्षित देखिन्छन। उनले लेखनाथ नगरपालिकाको मेलमिलाप सहजकर्ता, सहकारीको प्रशिक्षक र उधमशिलता सम्बन्धमा पनि प्रशिक्षकको रुपमा लेखनाथ क्षेत्र र वरपर काम गरेको कारण सामान्य मानिसहरुसंग उनको व्यक्तिगत सम्पर्क र प्रभाव समेत राम्रो देखिन्छ। उनले पोखरा बिश्वबिध्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको र कानुनमा पनि स्नातक गरेकोले उद्योगी ब्यबसायी एबम अन्य सर्बसाधारणको समस्या बुझ्न सक्ने क्षमता पनि उनमा रहेको छ।

राजनीतिक रुपमा पनि अनुकुल बाताबरण
लेखनाथ उद्योग बाणिज्य संघको निर्बाचनमा अन्य निर्बाचनमा जस्तै राजनीतिक आस्था र विचारले समेत प्रभाव पार्ने देखिन्छ। संघमा दुई हजार बढी सदस्य ब्यबसायी अर्थात मतदाता रहेको र त्यसमध्ये अधिकांश मतदाता नेपाली काँग्रेस निकट रहेको संघका पुर्ब अध्यक्ष बाबुराम गिरि बताउछन। नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका सदस्य समेत रहेका गिरिका अनुसार मतदाता ब्यबसायीहरुले संघको नेतृत्वलाई मतदान गर्दा योग्य र सक्षम नेतृत्व त रोज्छन नै, त्यसमाथि आफ्नो सिद्दान्त र विचार मिल्नेलाई मतदान गर्ने चाहना पनि सबैको हुन्छ। यसरि हेर्दा लेखनाथ उद्योग बाणिज्य संघका धेरै सदस्यहरु विचार वा पार्टीको हिसाबले नेपाली काँग्रेससंग नजिक रहेकोले पनि त्यसको प्रत्यक्ष फाइदा जानुका र उनको प्यानललाइ नै हुने देखिन्छ।
संघका अर्का पुर्ब अध्यक्ष सुमनमोहन भट्टराईका अनुसार यस अगाडिको निर्बाचनमा नेपाली काँग्रेस निकट ब्यबसायिहरु बीच आन्तरिक द्वन्द भएको बेलामा मात्र अन्य विचार बोक्नेहरुले बिजय प्राप्त गरेको थिए। नेपाली काँग्रेसको विचार बोक्नेहरु एकै ठाउँमा रहेको समयमा कांग्रेस निकटले नै चुनाब जितेको इतिहास छ। अहिलेको अबस्थामा लोकतन्त्रबादी विचार बोक्ने नेपाली काँग्रेस सहित नेकपा माओबादी केन्द्र र एकीकृत समाजबादीसंग निकट रहेका ब्यबसायीहरुले समेत जानुका पराजुलीको प्यानललाई समर्थन गरेको कारण जानुका बिजयको नजिक पुगेको भन्दा अन्यथा नहुने भट्टराईको भनाई छ।
महिला उमेदवार र महिला मतदाताको संख्या धेरै
यसपटक जानुका आँफुमात्र महिला छैनन् उनले आंफ्नो प्यानलमा ६ जना महिलालाइ उमेदवार बनाएकी छन जस अनुसार अध्यक्ष र उपमहासचिब सहित दुईजना पदाधिकारी, दुईजना खुला सदस्य र दुईजना महिला सदस्य गरि छ जना महिलाहरु जानुकाको प्यानलमा उमेदवार छन। उपमहसचिब गंगा मल्ल यस अगाडी दुई कार्यकालसम्म कार्यसमितिको सदस्य रहेर काम गरेकी र अघिल्लो अधिबेशनमा लोकप्रिय मत सहित सदस्यमा बिजयी भएकी थिईन। जानुकाको प्यानलमा खुला सदस्य पदमा उमेद्वार बनेका दुई सदस्यमा प्रतिक्षा रानाभाट र प्रभा कुमारी पौडेल लामिछाने रहेका छन् । उनीहरु दुवै जना यस अगाडी पनि कार्यसमितिको सदस्यमा निर्बाचित भएर काम गरिसकेका व्यक्तित्व हुन। यस पटक महिला सदस्यमा उमेदवारी दिएका शर्मिला श्रेष्ठ र गंगा सापकोटा परियार समेत गर्दा १९ जनाको कार्यसमितिमा ६ जना महिलाहरु जानुकाको प्यानलबाट उमेदवार बनेका छन।
लेखनाथ उद्योग बाणिज्य संघमा लामो समय देखि क्रियाशील रहेपनि कांग्रेसको आन्तरिक द्वन्दको शिकार बनेका भरतबहादुर अधिकारीका अनुसार राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनुपर्ने आवाज उठिरहेको बेला जानुकाको प्यानलमा भने करिब ३३ प्रतिशत उमेद्वार महिला रहेको छन । जब कि जानुकाको प्रतिष्पर्धी प्यानलमा ३ जना महिलालाई मात्र उमेद्वार बनाइएको छ । यसपटक लेखनाथ उद्योग बाणिज्य संघमा ८ सय भन्दा बढी महिला मतदाता रहेकोले पनि महिलाहरुको मत महिलाहरु धेरै रहेको प्यानलले पाउने र त्यसको फाइदा पनि जानुकालाई नै हुने अनुमान धेरैको छ।
जानुकाको प्यानलका उमेदवारहरु कस्ता छन त ?
जानुकाले आफ्नो प्यानलमा राखेका उमेदवारहरु पनि स्थानीयस्तरमा र ब्यबसायिक क्षेत्रमा समेत परिचित अनुहार नै धेरै छन । संघको बरिष्ठ उपाध्यक्षका उमेदवार गोपिचन्द्र बाँस्तोला रहेका छन। यसपटकको अधिबेशनका सबैजसो उमेदवारहरु भन्दा बाँस्तोला संघमा पहिले देखि क्रियाशील हुन । बाँस्तोला २०६४ सालदेखि संघमा जोडिएको र पटक पटक चुनाबी प्रतिष्पर्धामा जुटेको व्यक्तित्व हुन।

उनले कार्यक्रम संयोजक, कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपमहासचिब, महासचिब, र द्वितीय उपाध्यक्ष निर्बाचित भएर काम गरेको भएपनि यस अगाडिको निर्बाचनमा उनि बरिष्ठ उपाध्य्क्षमा पराजित हुन पुगेका थिए। त्यसपछि उनि यस पटक फेरी जानुकाको प्यानलबाट बरिष्ठ उपाध्यक्षको उमेदवार बनेका छन। बाँस्तोला नेकपा माओबादी केन्द्रसंग निकट ब्यबसायीको रुपमा चिनिन्छन। यस पटक माओबादी र कांग्रेस निकटका ब्यबसायी मिलेर प्यानल बनाउनुले पनि यो प्यानल बलियो मानिएको छ।
संघको प्रथम उपाध्यक्षको उमेदवार बिक्रम कर्माचार्ययस अगाडिको अधिबेशनमा द्वितीय उपाध्यक्षमा निर्बाचित भएर काम गरिरहेका छन। उनि पोखराको प्रतिष्ठित ब्यबसायिक घराना कर्माचार्य ग्रुप अफ इन्डस्ट्री एण्ड ट्रेडका निर्देशक समेत हुन। उनकै परिवारका सदस्य तथा उनका ठुलोबुवा चन्द्रकृष्ण कर्माचार्य लेखनाथ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष हुन।

‘स्वदेशी उत्पादन प्रयोग गर्न र स्वदेशमा रोजगारी सिर्जना गर्ने’ सोच सहित ब्यबसायिक क्षेत्रमा क्रियाशील अनि एमबिए सम्मको अध्ययन गरेका बिक्रम संलग्न रहेको कर्माचार्य ग्रुपले ५ सय भन्दा बढीलाई रोजगारी दिएको छ। उनि यस अगाडी कार्यसमितिको सदस्य, द्वितीय उपाध्यक्ष सहित तिन कार्यकाल उद्योग बाणिज्य संघमा रहेर काम गरिसकेका छन।
यसैगरी संघको कार्यसमितिको द्वितीय उपाध्यक्ष पदका उमेदवार ध्रुबबाबु भट्टराई (आइडी) पनि स्नातकोत्तर सम्मको अध्ययन गरेका युवा ब्यबसायी हुन। उनि बिशेष गरि निर्माण व्यवसायमा लामो समय देखि क्रियाशील छन।

भट्टराई नेपाल निर्माण ब्यबसायी संघ कास्कीको सहसचिब सहित स्थानीय स्तरका बिभिन्न संघसंस्थामा समेत क्रियाशील रहेका छन। उनि आइडी कन्स्ट्रक्सन र आइडी सप्प्लाययर्सको संचालक हुन।
जानुका पराजुलीको प्यानलबाट संघको अर्को महत्वपूर्ण पद महासचिबको उमेदवार भरतकुमार ओझा रहेका छन । उनले पनि लेखनाथ उद्योग बाणिज्य संघको कार्यसमितिको सदस्य, उपमहासचिव र कोषाध्यक्षको जिम्मेवारी सफलता पुर्बक पुरा गरिसकेको छन। यसपटक महासचिबको उमेदवार रहेका ओझा ब्यबसायिक क्षेत्रमा पनि सफल मानिन्छन।

भरतले डेरी ब्यबसायबाट आँफुलाई ब्यबसायिक क्षेत्रमा पहिचान बनाएका व्यक्तित्व हुन। हाल उनले लेखनाथमा अन्य बिभिन्न ब्यबसायसंगै आधुनिक इट्टा उद्योग संचालन गरेर पहाडी क्षेत्रमा पनि इट्टा उद्योग संचालन गर्न सकिन्छ भन्ने सन्देश सबैतिर फैलाउन सफल भएका छन।
कार्यसमितिको उपमहासचिब पदको उमेदवार गंगा मल्ल यस अगाडी लोकप्रिय मतका साथ सदस्यमा निर्बाचित भएकी थिईन। दुई कार्यकालसम्म सदस्य रहेकी उनले मल्ल फेसन हाउसको नामबाट रेडिमेड कपडाहरुको ब्यापार सहित अन्य ब्यबसाय पनि गर्दै आएकी छन। उनि लेखनाथस्थित लायन्स क्लब, सामुदायिक सेवा केन्द्र, आमासमुह र बिभिन्न धार्मिक र सामाजिक संघसंस्था र क्लबहरुमा समेत संलग्न छन।

जानुका प्यानलबाट कोषाध्यक्ष पदका उमेदवार हरी बस्ताकोटीले पनि यस अगाडीको दुई कार्यकालसम्म लेखनाथ उद्योग बाणिज्य संघको सदस्य निर्बाचित भएर काम गरिसकेका छन। बेगनासताल जाने चोक अर्थात तालचोक नजिक संचालन भैरहेको शुभम पार्टी प्यालेसको संचालक रहेका बस्ताकोटी त्यस क्षेत्रमा लोकप्रिय मानिन्छन। उनले संस्थाको आर्थिक पारदर्शिता र संघको कोष मजबुत बनाउने जस्ता योजना अगाडी सारेका छन ।

जानुकाको प्यानलबाट कार्यसमितिको सदस्यमा उमेदवारी दिनेहरुमध्ये प्रतिक्षा रानाभाट र प्रभाकुमारी पौडेल दुबैले यस अगाडीको अधिबेशनबाट कार्यसमितिको महिला सदस्यमा लोकप्रिय मत पाएर निर्बाचित भएका थिए। कार्यसमितिको सदस्य रहेर यस कार्यकालमा दुबै जनाले आफ्नो कार्यक्षमता र प्रभाव देखाउन सफल रहेको मानिन्छ।
रानाभाटले रेस्टुरेन्ट व्यवसायको अतिरिक्त बिमा ब्यबसायमा समेत आँफुलाई क्रियाशील बनाउंदै आएकी छन भने पौडेल मटेन्त्श्वरी ब्यबसाय संचालन गर्दै आएकी छन। रानाभाट र पौडेल दुवै त्यस क्षेत्रका बिभिन्न संघसंस्थामा पनि क्रियाशील छन।

कार्यसमितिको खुला सदस्यमा उमेदवारी दिने बिरेन्द्रराज भुर्तेल ड्राइभिंग ब्यबसायमा संलग्न छन भने भविन्द्र पुन आल्मुनियम उद्योग र फ्रोजन मम ब्यबसाय संचालन गर्छन। यसैगरी सुजन न्यौपाने युवा ब्यबसायी हुन। उनि अप्सन सप्लायर्सका संचालक पनि हुन् । यसबाहेक उनि तालचोक बजार ब्यबस्थापन समितिको अध्यक्ष, लेखनाथ जेसिज र रोट्र्र्याक्ट क्लब अफ लेखनाथका पनि पुर्ब अध्यक्ष हुन। यसैगरी दिपक अधिकारी मेडिकल ब्यबसायी हुन।

अर्का उमेदवार कृष्णप्रसाद तिमिल्सिना रंगरोगनको ब्यापारमा संलग्न रहेका छन भने सन्दिप बुढाथोकीलेखापरिक्षण संगै निर्माण ब्यबसायमा समेत संलग्न छन। एसोसिएट तर्फका उमेदवार दयाराज भण्डारीले यस अगाडी पनि संघको कार्यसमितिमा सदस्य रहेर काम गरेका थिए। उनि रियल स्टेटको क्षेत्रमा क्रियाशील लेखनाथका युवा ब्यबसायी हुन। संस्थागत तर्फबाट उमेदवारी दिएका बिरभद्र कंडेल भने निर्बिरोध बनेका छन।

कार्यसमितिमा प्रतिनिधत्व गर्ने दुई जना महिला सदस्यका उमेदवारहरु शर्मिला श्रेष्ठ र गंगा सापकोटा परियार दुवै टेलरिंग ब्यबसायमा संलग्न छन्। श्रेष्ठले भने टेलरिंग व्यवसायका अतिरिक्त बुटिक पनि संचालन गरेकी छन ।

यसरी हेर्दा जानुकाको प्यानलमा बिभिन्न ब्यबसायसंग सम्बन्धित विभिन्न भूगोलका उमेदवारहरु रहेका छन। उक्त प्यानलमा महिलाहरुको संख्या समेत उल्लेखनीय रहेको र बिभिन्न जातजातीका उमेद्वारहरु रहेकोले जानुकाको प्यानललाई सबै दृष्टिकोणबाट समाबेशी प्यानलको रुपमा पनि लिने गरिएको छ। जसका कारण लेखनाथ उद्योग बाणिज्य संघको आसन्न निर्बाचनबाट अध्यक्षमा जानुका र उनको प्यानलका उमेदवारहरु जीतको नजिक पुगेको अनुमान गर्न सकिन्छ ।


