गण्डकी प्रदेश सरकार पुनर्गठन, अर्थमा शेरचन, भौतिकमा नेपाली, सबै नयां अनुहार

पोखरा, सुरेन्द्रराज पाण्डे नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारमा मन्त्रीहरुको फेरबदल भएको छ। नयाँ बर्षको आगमनसंगै प्रदेश सरकारमा नयाँ मन्त्रीहरुको चयन पछि प्रदेश सरकारको काम कारबाहीलाई थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । नयाँ मन्त्रीहरुको शपथ आज बुधबार भएको छ।

९ सदस्यीय मन्त्रीमण्डलमा नेपाली काँग्रेसको तर्फबाट ५ जना र नेकपा एमालेको तर्फबाट ४ जना मन्त्री राखेर नयाँ मन्त्रीमण्डल बनाउने तयारीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रहेका छन। एमाले र कांग्रेस बिचको विगतमा भएको सहमति अनुरुप नै मन्त्रीमण्डलमा मन्त्रीहरुको संख्या निर्धारण गरिएको जनाएको छ ।

मन्त्रीमण्डलमा नेकपा एमालेको तर्फबाट गोविन्द बहादुर नेपालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, यशोदा रिमाललाई उद्योग तथा पर्यटन मन्त्रालय, लक्ष्मण पाण्डेलाई  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र भीम कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

यसैगरी नेपाली कांग्रेसका तर्फबाट जित शेरचनलाई अर्थ मन्त्रालय, नन्दप्रसाद न्यौपानेलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, नम्डु गुरुङलाई सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय तथा समानुपातिक सांसद रेखा गुरुङलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

यसअघि नेकपा एमालेबाट कृषि मन्त्रालयमा पद्मा जिसी, स्वास्थ्य मन्त्रालयमा कृष्ण पाठक, भौतिक मन्त्रालयमा प्रकाश केसी र पर्यटन मन्त्रालयमा मित्रलाल बस्यालले मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

यसैगरी नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनेका डा. टकराज गुरुङले अर्थ मन्त्रालय, विन्दुकुमार थापाले सामाजिक विकास मन्त्रालय र भेषबहादुर पौडेलले वन तथा वातावरण मन्त्रालय सम्हालेका थिए । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आँफैले सम्हाल्दै आएका थिए ।

Advertisment