आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् । उनी ९२ वर्षकी थिइन् । ८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रमा जन्मिएकी आशा भोसलेले महज ९ वर्षको उमेरदेखि नै गायन यात्रा सुरु गरेकी थिइन्। पिता दीनानाथ मंगेशकरको निधनपछि परिवारको आर्थिक जिम्मेवारी सम्हाल्न उनले दिदी लता मंगेशकरसँगै गीत गाउन र अभिनय गर्न थालेकी थिइन्। सन् १९४३ मा मराठी फिल्मबाट पार्श्व गायन सुरु गरेकी उनले १९४८ को फिल्म ‘चुनरिया’ बाट हिन्दी सिनेमामा पाइला टेकेकी थिइन्।
भारतीय संगीत क्षेत्रमा लामो समय योगदान दिएकी भोसले अद्वितीय स्वरकी धनीका रूपमा परिचित थिइन् । उनको संगीत यात्रा बाल्यकालदेखि नै सुरु भएको थियो। उनका पिता दीनानाथ मंगेशकर शास्त्रीय संगीतका ज्ञाता थिए, जसका कारण परिवारमै संगीतको वातावरण थियो। उनकी दिदी लता मंगेशकरसँगै सानैदेखि गायनमा लागेकी भोसलेले आफ्नै पहिचान स्थापित गर्न लामो संघर्ष गर्नुपरेको थियो । पछि उनले भारतीय संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउँदै हजारौँ गीतमा स्वर दिइन् । उनको निधनसँगै भारतीय संगीत जगतले एक युगीन स्वर गुमाएको छ भने विश्वभरका संगीतप्रेमीहरू शोकमा डुबेका छन् ।




