पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग१ख १४२१ नम्बर बस राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो । सडकबाट करिब ३ सय मिटर तल खसेर बस क्षतविक्षत अवस्थामा फेला परेको थियो । कहिले दुर्घटनामा १८ जनाको मृत्यु भएको समेत जनाएका छन ।

घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पुर्याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो । रातिको समय, अप्ठेरो स्थान र उद्धार सामग्री अभावका कारण उद्धारकार्यमा कठिनाइ महसुुस भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए । ‘टर्च बाल्दै घाइतेहरुको उद्धार गर्यौं । हामीलाई उद्धार सामग्रीको अभाव जस्तो अनुभव भयो,’ घटनास्थलमा रहेका प्रमुख जिल्ला अधिकारी सुवेदीले भने ।
उनका अनुसार घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ । ६ महिला र ११ पुरुषको मृत्यु भएको छ । दुर्घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका थिए । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरी नेतृत्वको टोली र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली पनि उद्धारमा खटिएको थियो ।

यसैबीच. पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा भएको बस दुर्घटनामा परि ज्यान गुमाएका १७ जना यात्रुहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा यो असह्य पीडाको घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेका छन ।
सामाजिक संजाल फेसबुक मार्फत मेयर आचार्यले दुर्घटनामा घाइते हुनुभएका २४ जना यात्रुहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार कार्यमा सक्रिय रहेका सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन टोली, गोताखोर तथा स्थानीय दाजुभाइ दिदीबहिनीहरूप्रति आभार समेत प्रकट गरेका छन।


