अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै हालसम्म ६ देशका १३ विदेशी तथा २७ नेपाली धावकले नाम दर्ता गराइसकेको जानकारी दिएको हो । समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरुङ ले यस वर्ष विदेशी धावकको सहभागिता अघिल्लो वर्षको तुलनामा बढेको बताए । नेपालीसहित कुल ७० जना सहभागी पु¥याउने लक्ष्य रहेको पनि उनले जानकारी दिए ।
फ्रान्सेली आरोही मौरिस हर्जोग ले अन्नपूर्ण हिमाल आरोहण गरेको दिन जुन ३ को अवसर पारेर हरेक वर्ष म्याराथन आयोजना हुँदै आएको छ । जेठ १५ गतेसम्म नाम दर्ताको समय रहेकाले सहभागी संख्या अझै बढ्न सक्ने आयोजकको अपेक्षा छ । विभागीय टोलीका खेलाडीका साथै स्थानीय १० जना धावकले पनि प्रतियोगितामा भाग लिने तयारी गरेका छन् ।
४२.१९५ किलोमिटर दूरीको म्याराथन अन्नपूर्ण आधार शिविर (४ हजार १३० मिटर) बाट सुरु हुनेछ । प्रतियोगिता माछापुच्छ्रे आधार शिविर, देउराली, दोभान, बम्बो, छोम्रोङ, घुर्जुङ, मेलाँचे र किम्रोङखोला हुँदै घान्द्रुकस्थित श्री मेश्रोम वराह माध्यमिक विद्यालयको खेल मैदानमा पुगेर समापन हुनेछ ।
प्राकृतिक सौन्दर्य, हिमाली भूगोल तथा कठिन पदमार्गका कारण म्याराथन साहसिक खेलकुद प्रतियोगिताका रूपमा परिचित रहेको आयोजकको भनाइ छ । हिमालयन एक्स्ट्राइक को प्राविधिक संयोजनमा सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम हुनेले १ लाख ५० हजार, द्वितीय हुनेले १ लाख तथा तृतीय हुनेले ७५ हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्याराथन सञ्चालनका लागि करिब ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।





