राज बहादुर गुरुङ, घान्द्रुक (कास्की) |
नेपालको प्रख्यात पर्यटकीय गाउँ मध्येको एक घान्द्रुकमा आयोजित छैटौँ ‘अन्नपूर्ण म्याराथन’ २०८३ प्रतियोगितामा जुम्ली धावकहरूले सानदार बर्चस्व देखाएका छन् । पुरुषतर्फ जुम्लाका दलबहादुर कुँवर र महिलातर्फ जुम्लाकै मञ्जु रावतले उत्कृष्ट प्रदर्शन गर्दै यस वर्षको च्याम्पियनको उपाधि चुमेकाछन् । 
सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान राखेको ऐतिहासिक दिन (७६ औं वर्षगाँठ) को अवसरमा अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले बुधबार प्रतियोगिताको आयोजना गरेको हो ।
हिमश्रृङ्खला र जङ्गलको बाटो: यस्तो थियो म्याराथनको चुनौती पूर्ण रुट
‘सबै मौसमका लागि पर्यटन’ भन्ने मूल नाराका साथ समुद्री सतहबाट ४ हजार १ सय ३० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविर (ABC) बाट बुधबार बिहान यो साहसिक म्याराथन दौड सुरु भएको थियो। ४२.१९५ किलोमिटर लामो यो कठिन दूरी पार गर्न धावकहरू अन्नपूर्ण क्षेत्रका थुप्रै प्रख्यात र रमणीय स्थानीय ठाउँहरू हुँदै दौडिएका थिए।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरुङका अनुसार धावकहरूका लागी यस्ता किसिमका मार्ग तय गरिएको जानकारी दिएका थिए ।
अन्नपूर्ण आधार शिविर (ABC) ➔ माछापुच्छ्रे आधार शिविर (MBC) ➔ बगर ➔ देउराली ➔ हिमालय ➔ दोभान ➔ हिन्कुकेभ ➔ बम्बो ➔ सिनुवा ➔ भनुवा ➔ छोम्रोङ ➔ तउलु ➔ घुर्जुङ ➔ चुइले ➔ मेलाँचे ➔ कोम्रोङडाँडा ➔ किम्रोङखोला ➔ उरी हुँदै घान्द्रुकस्थित मेश्रम वराह माध्यमिक विद्यालयको खेल मैदानमा पुगेर प्रतिष्पर्धा पुरा गरिएको मानिने यस अघि नै रुट तय गरिएको थियो ।
यस कठिन भौगोलिक बनावट, उकालो-ओरालो र उच्च हिमाली वातावरणको सामना गर्दै कुल ५१ जना (८ विदेशी र ४३ नेपाली) धावकहरूले प्रतिस्पर्धा पूरा गरेका थिए।
४२ किलोमिटरको कडा प्रतिस्पर्धा: कसले कति समयमा जिते? 
पुरुष तर्फको नतिजा:
• प्रथम: जुम्लाका दलबहादुर कुँवर (समय: ४ घण्टा ४ मिनेट ११ सेकेण्ड) । उनले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
• द्वितीय: नेपाली सेनाका तिलकबहादुर सुनुवार (समय: ४ घण्टा ४ घण्टा १० मिनेट ८ सेकेण्ड) । उनले नगद १ लाख रुपैयाँ प्राप्त गरे।
• तृतीय: सचिन गुरुङ (समय: ४ घण्टा ४९ मिनेट १२ सेकेण्ड) । उनले नगद ७५ हजार रुपैयाँ प्राप्त गरे। 
(चौथो स्थानमा सोमिन गुरुङ र पाँचौँ स्थानमा रोजन सिर्पाली रहे।)
महिलातर्फ जुम्लाकै ‘क्लिन स्वीप’:
महिला विधामा जुम्ली धाविकाहरूले पहिलो, दोस्रो र तेस्रो स्थान कब्जा गर्दै ऐतिहासिक रेकर्ड बनाए।
• प्रथम: जुम्लाकी मञ्जु रावत (समय: ६ घण्टा १४ मिनेट १९ सेकेण्ड) । उनले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी र मेडल जितिन्।
• द्वितीय: राज्यलक्ष्मी रावल (समय: ६ घण्टा ५७ मिनेट २५ सेकेण्ड) । उनले उपविजेता बन्दै १ लाख रुपैयाँ पाइन्।
• तृतीय: कल्पना बुढा (समय: ७ घण्टा ५६ सेकेण्ड) । उनले ७५ हजार रुपैयाँ प्राप्त गरिन्।
अन्तर्राष्ट्रिय खेल-पर्यटन इभेन्ट बनाउने घोषणा
कार्यक्रमका प्रमुख अतिथी अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले म्याराथनले साहसिक खेलकुद र अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याएको भन्दै गाउँपालिकाले यसलाई आगामी दिनमा थप बजेट र स्रोत दिएर निरन्तरता दिने प्रतिबद्दता जनाएका थिए । अध्यक्ष केसीले अन्नपुर्ण पदमार्ग क्षेत्रमा आउने पर्यटक र धावकहरूको सुरक्षाका लागि बिरेठाँटीमा सूचना केन्द्र र पदमार्गमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको जानकारी दिंदै त्यहांबाट सुचना लिएर जांदा लाभ प्राप्त हुने बिश्वास ब्यक्त गरे ।
अन्नपुर्ण गाउँपालिकाका पूर्व अध्यक्ष युवराज कुँवरले अन्नपुर्ण म्याराथनका कारण घान्द्रुक क्षेत्रमा धेरै बिकास भएको जानकारी दिंदै आफ्नो पालामा सुरु भएको अभियानले निरन्तरता पाएकोमा खुसी व्यक्त गरेका थिए ।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने र एक्याप पोखराका प्रमुख डा. रविन कडरियाले हिमाल नेपालको मुख्य आकर्षण भएकोले प्राकृतिक मौलिकता र सौन्दर्य जोगाउँदै म्याराथनलाई अन्तर्राष्ट्रिय बजारमा बेच्न विशेष पर्यटन प्याकेज ल्याउनुपर्ने सुझाव दिए । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका सचिब दिलिप गुरुङले सन्चालन गरेको कार्यक्रममा स्थानिय संघ, संस्था तथा पोखराबाट गएका कलाकारहरुले बिशेष सांगितिक सहितको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको कार्यक्रममा बिभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधीहरु समेतको सहभागिता रहेको थियो ।



