एकीकृत तामाङ घेदुङ यूकेमा आबद्ध हुने निर्णय: ल्हा म्हेन्दो तामाङ समाज लण्डनको समर भेला सम्पन्न

एकीकृत तामाङ घेदुङ यूकेमा आबद्ध हुने निर्णय

पोखरा । ल्हा म्हेन्दो तामाङ समाज लण्डनको वार्षिक समर भेला सम्पन्न भएको छ। समाजका अध्यक्ष आइतसिंह मम्बा तामाङको अध्यक्षतामा सम्पन्न भेलाले एकीकृत तामाङ घेदुङ यूकेमा आबद्ध हुने निर्णय गरेको छ।

भेलामा लण्डन बरो अफ हाउन्स्लोका पूर्व मेयर विष्णुबहादुर गुरुङ प्रमुख अतिथि तथा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष कुमबहादुर तामाङ विशेष अतिथि रहनुभएको थियो।

शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि गुरुङ र विशेष अतिथि तामाङले ल्हा म्हेन्दो तामाङ समाजले बेलायतस्थित तामाङ समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। उहाँहरूले समाजले एकीकृत तामाङ अभियानमा खेलेको भूमिकाको प्रशंसा गर्दै समुदायको एकतालाई अझ सुदृढ बनाउन आग्रह गर्नुभयो।

भेलामा एकीकृत तामाङ घेदुङ यूकेसम्बन्धी विशेष छलफल गरिएको थियो। छलफलअघि समाजका पूर्व अध्यक्ष सूरज थोकरले पावरपोइन्ट प्रस्तुतीमार्फत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। त्यसपछि गरिएको लघु जनमतसङ्ग्रह (मिनी रेफरेन्डम) मा एकीकृत तामाङ घेदुङ यूकेमा आबद्ध हुने प्रस्तावको पक्षमा स्पष्ट बहुमत प्राप्त भएपछि समाजले आधिकारिक रूपमा एकीकृत तामाङ घेदुङ यूकेको केन्द्रीय समितिअन्तर्गत शाखाका रूपमा आबद्ध हुने निर्णय गरेको जनाएको छ। समाजका अनुसार उक्त निर्णयले बेलायतस्थित तामाङ समुदायको संस्थागत एकतालाई थप बलियो बनाउने विश्वास लिइएको छ।

भेलाले समाजको नयाँ नौ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन गरेको छ। अध्यक्षमा विशाल स्याङ्बो तामाङ, उपाध्यक्षमा सुमन वाइबा, महासचिवमा सुदीप लोप्चन, सचिवमा सूरज स्याङ्बो र सूरज ग्लान, कोषाध्यक्षमा बिपना पुन तामाङ तथा सदस्यमा हरि नेगी, विशाल योञ्जन र सुसा पन्नाचन तामाङ चयन हुनुभएको छ।

कार्यक्रममा कलाकार शिवदास गुरुङले सांस्कृतिक प्रस्तुति दिनुभएको थियो। साथै, राफल ड्र र बिङ्गो कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले मनोरञ्जनका साथै आपसी भेटघाट र शुभकामना आदानप्रदान गरेका थिए।

उल्लेखनीय सहभागिताका साथ सम्पन्न समर भेलाले बेलायतस्थित तामाङ समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

Advertisment