पोखरा । विश्व खाद्य दिवसको अवसरमा पोखरामा आयोजित कृषि पर्यटन गीत प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका–१४ चाउथेको ज्येष्ठ नागरिक भजन समूहले जितेको छ। बार्दली मिडिया प्रालिद्वारा सञ्चालित पब्लिक फोरके टेलिभिजन र पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाको संयुक्त आयोजनामा गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा सो प्रतियोगिता सम्पन्न भयो। 
प्रतियोगितामा पोखरा–६ को कृषि सञ्जाल दोस्रो, पोखरा–२४ को गुन्टेचौर कृषक समूह तेस्रो र पोखरा–२५ को कृषि सञ्जालले सान्त्वना स्थान हासिल गरे। विजेता समूहहरूलाई क्रमशः ३० हजार, २० हजार, १० हजार र पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरियो।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषकहरूलाई व्यावसायिक कृषिमा जोड दिन आग्रह गर्नुभयो। उहाँले खाद्य सुरक्षाको महत्त्व उजागर गर्दै कोही पनि भोकै बस्न नपर्ने अवस्था सिर्जना गर्न कृषि उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, कृषि विज्ञ वासुदेव रेग्मी, पोखरा–१४ का अध्यक्ष बोधबहादुर कार्की र आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले कृषि क्षेत्र र विश्व खाद्य दिवसको महत्त्वबारे आ-आफ्नो धारणा राख्नुभयो।
यस्तै, कार्यक्रम संयोजक घनश्याम पाण्डेले कृषि प्रवर्धन र किसानको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो भने पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्री, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका अधिकारी पराजुली र पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले कृषि र पर्यटनलाई सँगै लैजानुपर्नेमा जोड दिनुभयो।
प्रतियोगिताअघि कृषि झाँकीसहितको ¥याली निकालिएको थियो। कार्यक्रमस्थलमा दशैँलक्षित सुपथ मूल्य पसल, रैथाने कृषि उपजको प्रदर्शनी र बिक्रीका साथै कलाकारहरू पशुपति शर्मा, प्रजापति पराजुलीलगायतका सांस्कृतिक प्रस्तुतिहरू समेत रहेका थिए।




