आइटिएफ उपाधीका चिरपरिचित अुनहार कमल भण्डारी र दिलिप मोहन्ती भिड्ने

१५ असोज, पोखरा । नेपालका शिर्ष वरियताका कमल भण्डारी र भातरका दिलिप मोहन्ती पोखरामा जारी आइटिएफ सर्किट ४ टेनिस प्रतियोगिताको ३५ वर्ष माथिको एकल उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा कमलले भारतका स्वर्णद्धिपसिंह ढोंढीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । त्यसैगरि मोहन्तीले नेपालका महेश श्रेष्ठमाथि ७–६, ४–६ र ६–३ को संघर्षपूर्ण नतिजा निकाल्दै कमलसंगको भेट पक्का गरेका हुन् । प्रतियोगिताको गत संस्करणमा पनि कमल र दिलिप फाइनलमा भिड्दा कमलले बाजि मारेका थिए ।

त्यस्तै ५५ वर्ष माथिको एकलमा पूर्व प्रधानमन्त्रि कमल थापाले फाइनलमा स्थान बनाएका छन् । राप्रपा अध्यक्ष समेत रहेका थापाले भारतका आदित्य कर्नानीको चुनौती ६–३ र ६–१ को सजिलो सेटमा पन्छ्याउँदै फाइनलमा स्थान सुरक्षित पारेका हुन् । उपाधीका लागि उनी कृष्णराज घले र पोखराका अनिल तुलाचनविचको विजेतासंग भिड्नेछन् ।

प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको डबल्समा भारतका अभिनास कुँवर र दिलिप मोहन्ती फाइनल पुगेका छन् । मोहन्ती जोडीले नेपालका कमल भण्डारी र महेश श्रेष्ठको जोडीलाई ६–४, २–६ र सुपरटाइमा १०–८ को कठिन सेटमा पराजित गरेका हुने । त्यस्तै, पोखराका धरमबहादुर लामिछाने र भारतका सुरेन्द्रसिंह ढोंढीको जोडी पनि फाइनल पुगेको छ । लामिछाने जोडीले पोखराकै गोपीबहादुर भट्टराई र शरण गुरुङ्गको जोडीलाई ६–१, ६–१ को सहज सेटमा पराजित गरेका थिए ।

४५ वर्ष माथिको डबल्समा भारतका पवन जैन र नारायण मूर्ती फाइनल प्रवेश गरे । उनीहरुले नेपालका सुवर्ण ढाक्वा र प्रताप मोक्तानको जोडीलाई ६–१, ६–४ को सेटमा पराजित गर्दै अन्तिम दुईमा आफ्नों नाम लेखाएका हुन् ।

त्यस्तै, ५५ वर्ष माथिको डबल्समा भारतकै अरुण अग्रवाल र सुरेन्द्र मुर्ताजीको जोडीले नेपालका मनोज राणा र भारतका पवन जैनको जोडीसंघ उपाधीका प्रतिस्पर्धा गर्नेभएका छन् । अग्रवाल जोडीले पोखराका समिर शेरचन र अनिल तुलाचनको जोडीलाई ६–४, ६–२ ले तथा मनोज राणा जोडीले कमल थापा र झ्याम्बा ढुण्डुपको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेट थापा जोडीले ६–० ले लिंदै प्रभावशालि खेल प्रदर्शन गरेपनि दोश्रो सेटको खेल ७–५ ले आफ्नों पक्षमा पार्दै राणा जोडी खेलमा फर्किएको हो । निर्णायक सेट राणा जोडीले सुपर टाईमा १३–११ ले आफ्नों पक्षमा पार्दै अन्तिम दुईमा उक्लिन सफल भएको हो । मंगलबारपनि विहानैदेखि विभिन्न उमेर समुहका सेमिफाइनल खेलहरु हुने आयोजक संघ कास्कीका सदस्य प्रिति बरालले जानकारी दिइन् ।

Advertisment