नेपाल इराकसँग ६–२ ले पराजित

काठमाडौं, जेठ १६ गते । इराक बिरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपाल ६–२ ले हार बेहोरेको छ । इराकको बसरास्थित अल फहा रङशालामा गए राति अबेर सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा हार बेहोर्न पुगेको हो । इराकले नेपालमाथि जित हात पार्ने क्रममा पहिलो हाफमा पाँच मिनेटभित्र लगातार तीन गोल गर्दै खेल ४–२ को स्थितिमा ल्याएको थियो । दोस्रो हाफमा नेपालले कुनै गोल थप्न सकेनन । इराकले भने दुई गोल थप्यो ।
खेलको सातौं मिनेटमा अला अब्दुल जहराले इराकलाई सुरुवाती अग्रता दिलाउनुभयो । उहाँले फ्रि किकलाई गोलमा परिणत गर्नुभयो । तर इराकले अग्रता बनाएको एक मिनेट नबित्दै अञ्जन विष्टले गर्नुभएको प्रहार गोलमा परिणत हुँदा नेपालले बराबरी गोल फर्कायो ।
२९ औं मिनेटमा डेब्युडेन्ट मनिष डाँगीले गोल थप्दा नेपालले खेलमा २–१ का्े अग्रता बनायो । मोहम्मद अब्दुलजहराले ३९ औं मिनेटमा गोल गर्दै इराकलाई बराबरीको स्थितिमा ल्याउनुभयो । एमन हुस्सैनले लगातार दुई गोल थपेपछि इराकले हाफटाइमसम्म खेलमा ४–२ को अग्रता लियो ।
इराकले दोस्रो हाफमा मोहनद अलि अलशमारी र सज्जद जस्मिनको गोलबाट खेल ६–२ को स्थितिमा पुर्यायो । अलि अलशमारीले ६७ औं मिनेटमा र सज्जद जस्मिनले ७५ औं मिनेटमा गोल थप्नुभयो ।
डाँगीसँगै गौतम श्रेष्ठले समेत राष्ट्रिय टोलिका लागि डेब्यु गर्नुभयो । प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले आफू हारको दायित्व लिँदै राम्रो नतिजाका लागि अझै धेरै समय र धैर्यता आवश्यक रहेको प्रतिक्रिया दिनुभयो ।
विश्वकप फुटबल २०२२ को छनोटको पूर्ब सन्ध्यामा नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेलेको हो । नेपालले छनोट अन्तगर्तको आफ्नो छैठौं खेलमा चाइनिज ताइपेइको सामना जुन ३ मा कुवेतमा गर्दैछ ।

Advertisment