कास्कीको पाँउदुरकोट युवा क्लबले सि डिभिजन छनौट खेल खेल्ने

पोखरा, २५ साउन

कास्कीको पाँउदुरकोट युवा क्लबले अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने शहिद स्मारक सि डिभिजन लिग फुटबल प्रतियोगिताको छनोट खेल खेल्ने भएको छ ।

खेलकुदको माध्यम बाट अन्नपूर्ण गाउँपलिकालाई राष्ट्रिय स्तरमा चिनाउने प्रयास स्वरुप र खेलकुदमा भविष्य खोजिरहेका युवालाई अवसर प्रदान गर्न पनि क्लबले छनोट खेल्न लागेको टिम म्यानेजर बिश्वदल गुरुङ्ग ले बताए। क्लब गण्डकी प्रदेश बाट सहभागिता जनाउने एक मात्र टोली भएकोले सिङ्गो प्रदेशको प्रतिनिधित्व समेत गर्ने भन्दै खेलाडीहरुका लागि कोशेढुङ्गा बन्ने आशा राखेको बताए ।

कास्की जिल्लाबाट लिग छनोट खेल्ने एकमात्र क्लब भएकाले चौतर्फी साथ सहयोग र अपेक्षा गरेको क्लब अध्यक्ष ईश्वर पौडेलले बताए । यसैबिच एन्फाले लिग छनौटका लागि टिम दर्ता मिति श्रावण मसान्त सम्म थपेको छ । यस अघि यहि श्रावण २५ गतेसम्मका लागि तोकेमा अब नयाँ मिति अनुसार इच्छुक क्लबहरुले यहि श्रावण ३२ मसान्त सम्म टिम दर्ता गर्न सक्ने एन्फाले जनाएको छ । एन्फाले टिम दर्ताका लागि मिति थप गरेपछि सी डिभिजन लिग छनौट शुरु हुने मिति पनि सारेको छ । यसअघि भाद्र १ गतेदेखि लिग छनौट हुने बताइए तापनि अब लिग छनौट प्रतियोगिता भाद्र १० गतेदेखि शुरु हुनेछ ।

Advertisment