कञ्चन पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ र केबी राना पुरस्कृत

पोखरा, २७ साउन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पोखरामा २ जना पत्रकार पुरस्कृत भएका छन् । फोनिजको २२ औं स्थापना दिवसको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजनामा मंगलबार पोखरामा आयोजित कार्यक्रममा पोखराकी पत्रकार शान्ति गुरुङ र नवलपुरका पत्रकार केबी राना मगर ‘कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मुख्यमन्त्रीका राजनीतिक सल्लाकार खडकबहादुर कुमाल, पुरस्कारदाता बिमलमान गुभाजु, फोनिज गण्डकी प्रदेश अध्यक्ष एमबी आस्थालगायतले नगद २५÷२५ हजार सहित दोषल्ला र सम्मापत्रले सम्मान गरेका थिए । आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको क्षेत्रमा कलम चलाएबापत पुरस्कृत गरिएको फोनिज गण्डकी प्रदेशले जनाएको छ ।
सम्मानित गुरुङ लामो समयदेखि रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखरमा कार्यरत छिन् । उनी पत्रकारिता सँगै गायन क्षेत्रमा पनि सक्रिय छिन् । सामाजिक भावनाकी गुरुङ विभिन्न संघ संस्थामा विभिन्न पदमा रहेर काम गरिरहेकी छिन् । नवलपुरका रानासँग रेडियो नेपाल, कान्तिपुर टिभी, नागरिक दैनिक लगायत दर्जनौ मिडिया हाउसमा कार्य अनुभव छ । मध्य नेपालमै पहिलो स्थानीय टेलिभिजन देवचुली टेलिभिजनको संस्थापक, सामुदायिक रेडियो मध्यविन्दु एफ एमको संस्थापक तथा तथा स्टेशन संयोजक तथा सल्लाहकार लगायत धेरै सामाजिक संस्थामा विभिन्न पदमा रहेका काम गरिरहेका छन् ।
सम्मानित भएपछि पत्रकारद्वय गुरुङ र रानाले पुरस्कारले पत्रकारिताको क्षेत्रमा कलम चलाईरहन थप हौषला प्रदान गरेको बताए । साथै उनीहरुले जीवनपर्यन्त कलम चलाईरहने बाचासमेत गरे । रानाले पुरस्कार वापत पाएको २५ हजारमा उती नै रकम थपेर आफ्नी ५ महिने छोरीको सम्झनामा कोरोनाबाट ज्यान गुमाएका तथा पिडित बालबालिका तथा परिवारलाई सहयोग गर्ने घोषणा पनि गरेका थिए ।
पोखराका व्यवसायी तथा समाजसेवी विमलमान गुभाजुसहित उनको परिवारले पिता स्वर्गिय वेदमान गुभाजु र माता नेत्रकुमारी गुभाजुको स्मृतिमा पुरस्कार स्थापना गरिएको पुरस्कार दोस्रो पटक अर्पण गरिएको हो । कार्यक्रममा गुभाजु परिवारले पुरस्कारका लागि थप १ लाख अक्षय कोषमा थप्ने घोषणा गरे । अब पुरस्कारको अक्षयकोष ७ लाख पुगेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको सम्पती जनजाती, धर्म, संस्कृति प्रदेशको गहना भएका कारण विषेश रुपमा स्थान दिइएको बताए । प्रदेशमा भएका धर्म संस्कतिलाई समेट्दै धार्मिक पर्यटनमा जोड दिएको उनको भनाइ थियो । गुरुङ जातीको उद्गम थलो क्होलासोंथार, लिगलिगकोट जस्ता महत्वपूर्ण स्थानहरुलाई विश्व सम्पदा सुचीमा राख्न पहल भइरहेको उनले जनाए । आदिवासी जनजाती पक्षबाट आउने सुझावलाई सकरात्कम रुपमा लिंदै त्यसैको आधारमा अगाडि बढ्ने उनको भनाई थियो । एक फरक प्रशंगमा प्रदेशको विकाश निर्माण र समृद्धिका पाटाहरु केही समय थाती राखेर जनताको स्वास्थ्यमा प्रदेश सरकार लागिपरेको उनको धारणा थियो । पहिलो चरणमा निशुल्क खोपका लागि बजेट छुट्याएपनि सिधैं प्रदेशले खोप ल्याउन पाउने अधिकार नभएका कारण संभव नभएको मुख्यमन्त्री पोखरेलले बताए । तथापी संघ सरकारसँग समन्वय गरी प्रदेशका जनतालाई पूर्ण खोप सुनिश्चित बनाउने अभियान जारी रहेको उनको भनाई छ ।
मुख्यमन्त्रीका राजनीतिक सल्लाकार खड्गबहादुर कुमालले पुरस्कृत व्याक्तित्वलाई बधाइ दिदैं फोनिजलाई यस्तो किसिमको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । प्रदेश सरकारसँग धेरै अपेक्षा अनुरोध भएपनि पुरा गर्न गाह्रो हुने उनको धारणा थियो । प्रदेश सरकारले फोनिज गण्डकीका लागि ५ लाख रुपैयाँ रातो किताबमा राखेकोमा खुसी व्यक्त गरे । रकम सानो भएपनि सिड मनीको रुपमा राखेर राम्रा राम्रा कार्यक्रम ल्याउन सके पछिल्ला दिनमा सहज उनको उनले बताए । यो पटक रातो किताबमा राखिएको शिर्षक आगामी वर्षहरुमा कुनै पनि सरकाले कुनै पनि बहानामा हटाउन नसक्ने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकार महासंघ र फोनिज सँगसँगै रहेको बताईन् । स्थानिय, प्रदेश र केन्द्र सरकारले आदिवासी जनजाति, महिला, बालबालिकाका लागि बजेट छुट्याउन हात कमाउन नहुने धारणा व्यक्त गरिन् । आदिवासी जनजातिको मुद्धालाई साझा मुद्धा बनाएर आवाज उठाउन नेपाल पत्रकार महासंघ फोनिजसँगै रहेको उनले बताईन् ।
कार्यक्रममा फोनिज गण्डकी प्रदेशका इन्चार्ज हुमबहादुर गुरुङले पुरस्कृति व्याक्तित्वद्वयको परिचय दिदै फोनिजको स्थापनाको औचित्य माथि प्रकाश पारेका थिए । फोनिज गण्डकी प्रदेशका उपाध्यक्ष दील शिरिषले पुरस्कारदाताहरुको सहयोगी मनकै कारण पुरस्कार सम्भव भएको बताए । पछिल्लो समय पुरस्कारको अस्वस्थ प्रतिस्पर्धाका बिच फोनिजले पुरस्कारलाई कुनै त्रुटी बिना संचालन गरेको उनको भनाइ थियो । फोनिज गण्डकी प्रदेशका महासचिव रुद्र शिरिष मगरले फोनिजको स्थापना दिवशमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा आदिवासी जनजातीको मुद्धामा पत्रकारहरु खरो रुपमा लाग्नुपर्ने धारणा राखे ।

Advertisment