गुरुङ(तमु) लामा बौद्ध धर्म समाजद्धारा तमु धिंमा महापुजा शुरु

पोखरा, १३ चैत्र
गुरुङ(तमु) लामा बौद्ध धर्म समाजले पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा विश्वशान्तिका लागि कांग्युर(त्रिपिटक) वाचन महापुजा अनुष्ठान शुरु गरेको छ। विश्वमा शान्तिको कामना एवम सन्देश फैलाउने उद्धेश्यले नेपालका सातै प्रदेशमा आयोजना गरिने कांग्युर महापुजा अन्र्तगत तमुहरुको घना बसोबास रहेको पोखराबाट प्रारम्भ गरिएको महापुजाको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कांग्युरको पहिलो ठेली गुरुङ(तमु) लामा बौद्ध धर्म समाजका अध्यक्ष, प्रमुख वाचक एवम धर्मदेशक खेन्पो शिर लामा गुरुङलाई हस्तान्तरण एवम दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको हो। खेन्पो शिर लामा गुरुङले उक्त ठेलीको पहिलो अंश बाचन गर्नुहुदै कांग्युर वाचनको प्रारम्भ गर्नुभएको हो।
चैत्र १८ गतेसम्म हुने सञ्चालन हुने महापुजाको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि प्रदेश प्रमुख गुरुङले महापुजाले विश्वशान्तिका लागि सन्देश फैलाउने बताउनुहुदै सम्पुर्ण मानव जाति बुद्ध धर्मका पञ्चशिलमा रहन सक्नुपर्ने बताउनुभयो। लोभका कारण विश्वमा धेरै समस्याहरु आउने भएकाले आफुसँग जे छ त्यसैमा खुशी रहनसक्नुपर्दछ भन्दै उहाँे बौद्ध धर्ममा आस्था राख्नेहरुले बुद्धका चार धाम पुग्नै पर्ने बताउनुभयो।
अहिंसा परम धर्मको चाहना, विश्व सर्व शान्किो कामना नाराका साथ शुरु भएको उद्घाटन समारोहको अध्यक्षता गर्नुभएका गुरुङ(तमु) लामा बौद्ध धर्म समाजका अध्यक्ष खेन्पो शिर लामा गुरुङले गुरुङ(तमु) लामा बौद्ध धर्म समाजको आवाश्यकता, उद्धेश्य र महापुजा आयोजनाको बारेमा प्रष्ट पार्नुभएको थियो। कार्यक्रमको संचालन समाजका महासचिव खेन्पो दशरथ गुरुङले गर्नुभएको थियो ।
पहिलो दिन महापरिनिर्माण गर्नुभएका बौद्ध विद्धानहरु लगायतको नाउमा श्रद्धाञ्जली पुजा, धर्मदेशना, ग्रहशान्ति धर्मपाल(महकाल) सोल्क पुजा, दिवंगत पितृको नाममा दिप प्रज्वलन, सुर चढाउने, मोन्लम वाचन गरिएको थियो भने विभिन्न दानदाताहरुले महापुजा सम्पन्नका लागि दान प्रदान गरेका थिए। कांग्युर वाचनमा एक सय भन्दा बढी लामा गुरुहरुको सहभागिता रहेको थियो।
महापुजा कार्यक्रम अन्र्तगत बौद्ध गुरुहरु बज्राचार्य(दोर्जे लोपोन), बौद्धाचार्य(लोपोन), उपाध्य(खेन्पो),अवतारी(टुल्कु) रिन्पोछे गुरुहरुबाट बौद्ध दर्शनको विविध विषयमा धर्म देशना गरिने र समापनको दिन परमपुज्यनिय गुरुहरुबाट अभिषेक(वाङ) प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जनाएकोछ।

Advertisment