मुस्ताङमा वियरको बोतल निषेध गर्ने अध्यक्ष लालचनको घोषणा

पोखरा, २१ चैत ।
मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचनले वैशाखदेखि पालिका भित्र वियरको बोतल निषेध गरिने बताउनुभएको छ ।
आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले हिमाल पारीको जिल्ला मुस्ताङमा मंगलबार आयोजना गरेको घरपझोङ गाउँपालिकाको समृद्धिमा सञ्चारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष लालचनले सो कुरा बताउनुभएको हो । सिसाको बोतल नकुहिने र गाड्दा समेत कयौं वर्ष रहने भएकाले वातावरणीय आधारमा समेत आफूहरुले सिसाको बोतललाई निषेध गर्ने वहांले जानकारी दिनुभएको हो । ‘वातावरणीय हिसाबमा फोहोर हुने भएको र नकुहिने भएको २०८० सालको वैशाखबाट हामीले यो निर्णय लागू गर्ने भएका हौं,’ गाउँपालिका अध्यक्ष लालचनले भन्नुभयो ।
वहांले फरक प्रसंगमा सरकार परिवर्तन धेरै भएकाले आफूहरुलाई थप चुनौती थपिएको र समन्वयमा समस्या उत्पन्न भएको बताउनुभयो । ‘एउटा सरकारको मन्त्रीलाई आफ्नो समस्या राख्यो, समाधान नहुँदै अर्को मन्त्री आइसक्छन्, त्यस्तो हुँदा हाम्रो समस्या समाधान हुन सकिरहेको छैन,’ वहांको भनाई थियो‘समस्या समाधानका लागि समन्वय गर्न समस्या हुँदा यहाँका समस्या ज्युँका त्युँ छ ।’
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तथा जिल्लाको न्यायिक समितिका संयोजक जमुना थकालीले जिल्लामा अझै पनि मुखिया प्रथा कायमै रहेकाले आफूसम्म धेरै जस्तो समस्या नै नआउने बताउनुभयो ।
फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीष मगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली, फोनिज गण्डकी प्रदेशका इन्चार्ज एमबी आस्था मगर लगायतले फोनिज गण्डकी र स्थानीय तह बिच सहकार्य गर्दै अघि बढ्नु पर्ने आवश्यकता रहेको औंल्याईएको थियो ।

Advertisment