प्रदेश नं. ४ का दुई विधेयक प्रमाणिकरण

पोखरा, ०६ बैशाख । प्रदेश नं. ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका दुई विधेयक प्रमाणिकरण गरेका छन् । बैशाख ३ गते प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै प्रमुख कुँवरले ‘प्रदेश स्तरीय सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धी विधेयक’ प्रमाणाणिकरण गरि विधेयक प्रमाणिकरण गर्ने मेलो सुरु गरेका थिए ।

प्रदेश प्रमुख कुँवरले बुधबार‘प्रदेश सरकारको प्रदेश नं. ४ को आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको बिधेयक’ प्रमाणिकरण गरेको प्रदेश प्रमुखको कार्यालयले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । प्रदेश सभा प्रदेश नं. ४ पोखराबाट पारित तथा सभामुखबाट प्रमाणित पाँच प्रति बिधेयक प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेपछि एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघिय कानून मन्त्रालयमा एक÷एक प्रति पठाइएको कार्यालयले जनाएको छ ।

प्रदेश सभाले पारित गरेका विधेयकहरु नेपालको संविधान धारा २०१ उपधारा (२) बमोजिम प्रदेश प्रमुखले प्रमाणिकरण गर्नुपर्ने व्यवस्था छ ।
नेपालको संविधान धारा २०१ उपधारा (२) बमोजिम प्रदेश प्रमुखले पन्ध्र दिनभित्र प्रमाणीकरण गरि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिने व्यवस्था भए पनि प्रदेश प्रमुख कुँवरले विधेयक पाएलगत्तै प्रमाणिकरण गरिदिएर प्रदेश सरकारलाई कानून बनाउन सजिलो गरिदिएका छन् । प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।

Advertisment