पोखरा । जिल्ला समन्वय समिति (जिसस) कास्कीको ५३ औँ बैठकले चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमन र यातायात व्यवस्थापनलाई तीव्र तथा कडा बनाउने निर्णय गरेको छ। जिसस कास्कीका प्रमुख लिलाधर पौडेल र जिल्ला समन्वय अधिकारी नवराज बरालका अनुसार सम्पन्न बैठकले नागरिकको दैनिकी र जनजीविकासँग जोडिएका विभिन्न विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको हो।
बैठकले आगामी चाडपर्वका बेला हुन सक्ने अस्वाभाविक मूल्यवृद्धि, खाद्यान्नमा मिसावट, सवारी साधनमा बढी भाडा असुली तथा क्षमताभन्दा बढी यात्रु बोक्ने जस्ता समस्या नियन्त्रण गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। साथै, मालवाहक सवारी साधनका लागि व्यवस्थित पार्किङको प्रबन्ध मिलाउन स्थानीय प्रशासन तथा कास्कीका स्थानीय तहहरूसँग आग्रह गरिएको छ।
यसैगरी, बैठकले साताको दुई दिन दिइँदै आएको सार्वजनिक बिदाको पुनरावलोकन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। क्याम्पसहरूमा सञ्चालन भइरहेका कक्षा ११ र १२ लाई अन्यत्र उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ।
human rights सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन र गरिब घरपरिवार परिचयपत्र वितरण प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन जिल्लाभर आवश्यक समन्वय गर्ने निर्णय भएको छ।
बैठकले पोखरा–२८ मा भएको बोर्डिङ स्कुलको बस दुर्घटना तथा हालै रसुवा, नुवाकोट र गोरखामा गएको बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, उक्त दुर्घटना तथा प्राकृतिक विपत्तिमा परी घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको नि:शुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।




