आदिवासी जनजातिको बन्दले गण्डकी प्रदेश ठप्प, माग सुनुवाई नभए अनिश्चितकालिन प्रदेश बन्द गर्ने चेतावनी

भुपाल गुरुङ
पोखरा २६ असार ।

प्रदेश नामाकरणमा असहमति जनाउदै आदिवासी जनजातिले गरेको गण्डकी प्रदेश बन्दको प्रभाव कास्की लगायत जिल्लाहरुमा परेको छ ।

प्रदेश ४ ले गत शुक्रबार प्रदेशको नामाकरण गण्डकी प्रदेश दुई तिहाईले पास गरेपछि आन्दोरत आदिवासी जनजातिले गण्डकी प्रदेशका ११ जिल्ला बन्दको आह्वन गरेको थियो । बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सार्वजनिक यातायात चलेका छैनन् भने शैक्षिक संस्था, कलकारखाना, व्यापारिक केन्द्रहरु ठप्प छन । पोखरामा बिहानैदेखि अविरल पानी परे पनि बन्दकर्ता बजारका विभिन्न चोकमा बन्द सफल बनाउन परिचालित छन् ।

बन्दका क्रममा पर्यटक, एम्बुलेन्स, खानेपानी, संचारमाध्यम, कुटनितिक नियोगका गाडिहरु भने निर्वाध रुपमा गुडेका छन् । बन्द हालसम्म शान्तिपूर्ण नै रहेको कास्की प्रहरीले जनाएको छ । पोखरामा गठित तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन् । आन्दोलरत आदिवासी जनजातिले आफ्नो माग सुनुवाई नभए अनिश्चितकालिन प्रदेश बन्द गर्ने चेतावनी दिदै आएको छ ।

Advertisment