तमु धिंमा ल्होछारको अवसरमा रक्तदान, सरसफाई, दीप प्रज्वलन र स्योकैं

पोखरा, १४ पुस ।
च्यु ल्हो आगमनको अवसरमा तमु धिं नेपालले सोमवार रक्तदान, सरसफाई, दीप प्रज्वलन र स्योकैं कार्यक्रम गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व र मानवीय सेवाका लागि तमु धिंमा आयोजित रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेकाछन।चारभञ्ज्याङ तमु समाजका विजय गुरुङले रक्तदान गरी शुभारम्भ गरेको रक्तदान कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय रक्त संचार सेवा केन्द्रले प्राविधीक सहयोग गरेको रक्तदान कार्यक्रमका संयोजक विग्नेस थापा गुरुङले जानकारी दिनुभयो।

यसरी नै च्यु ल्होछारका अवसरमा तमु सेवा समिति नयाँबजार, तमु सहयोग समिति पार्दी, कोल्माबहाकोट तमु समाज, बगर तमु समाज, सिमपानी तमु समाज, हिमाली गुरुङ परिवार, बाँझापाटन तमु समाजसहित क्षेत्रीय समाजहरुले टोल टोलमा सरसफाई गरेको छ।

यस्तै गरी च्यु ल्होलाई स्वागतका लागि तमु ह्युला चोक विरौटामा बेलुका दीप प्रज्वलन गरिएको छ। तमु धिं नेपालका संरक्षक तथा तमु ह्युल चोकमा तमु तमुस्योको प्रतिमा स्थापनाका परिकल्पनाकार मेजर लक्ष्मीप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमका दीप प्रज्वलनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि मेजर गुरुङले च्यु ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै पोखराकै पहिचान स्थापित हुने गरी तमु ह्युलचोक निर्माण गरिएको बताउनुहुदै चोकलाई अझै आकर्षक बनाउन आफुहरु जुट्ने बताउनुभयो।

कार्यक्रममा तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रम संयोजक तमु सहयोग समितिका उपाध्यक्ष सु.तुलबहादुर गुरुङले स्वागत र सचिव गमबहादुर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो । उक्त कार्यक्रममा जलपान कार्यक्रमका साथै शुभकामना आदान प्रदान र ल्होछारको खुशीयालीमा सहभागीहरु साँस्कृतिक प्रस्तुतिसहित रमाएका थिए। यसरी नै सोमवार नै ल्होछारको अवसरमा तमु धिंमा स्योकैं सम्पन्न गरिएको छ।

ल्होछारको दिन पुस १५ गते समाज समाजमा, गुम्बा र क्होइवोमा ल्होछार भव्यताका साथ भनाउने भएको छ भने पुस १६ गते कस्केली गुरुङहरु लेखनाथको तालचोकमा भेला भई शुभकामना र्यालीसहित भण्डारढिकस्थित खेलमैदानमा सामुहिक ल्होछार÷ल्होसार कार्यक्रम गर्ने आयोजकले जनाएको छ। र्यालीमा प्रथम हुने समाजलाई २० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई १० हजार रुपैयासहित पुरस्कृत गरिने भएको छ। यस्तै गरी तमुहरुको परम्परागत खेल छेलोका विजेतालाई मादी गाँउपालिका अध्यक्ष बेदबहादुर गुरुङ श्यामले आफ्नो बुबा टेकसाई गुरुङ स्मृतिमा प्रथमलाई १५ हजार र दोश्रोलाई १० हजार रुपैयाले पुरस्कृत गर्नुहुनेछ। तमुहरुको परम्परागत खेल छेलोको संरक्षण र विकासका लागि तमु धिं नेपालले सञ्चालन गरिदै आएको छेलो प्रतियोगिता सामुहिक ल्होछार÷ल्होसार कार्यक्रममा शुरु भए पश्चात सामुहिक ल्होछारमा युवा आकर्षण कार्यक्रम बन्दै आएको छ ।

Advertisment