काठमाडौँ। सन्तानका लागि बुवाले गर्ने अनवरत त्याग र संघर्षको कथामा आधारित नेपाली चलचित्र ‘बा : एक योद्धा’ को ट्रेलर, शीर्ष गीत र टिजर काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
हरि लम्सालको निर्देशनमा बनेको यस चलचित्रले आफ्ना सन्तानको सुखका लागि सर्वस्व सुम्पन तयार हुने बुबा र पछि तिनै सन्तानले बुबाआमाको गुन भुल्ने modern समाजको तितो यथार्थलाई प्रस्तुत गरेको छ। कुशे औंसी (बुबाको मुख हेर्ने दिन) को पूर्वसन्ध्यामा भदौ १९ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।
चलचित्रको सार्वजनिक शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ मा सञ्जीव थापाको शब्द तथा निर्देशक लम्सालकै संगीत र स्वर रहेको छ। गीत र टिजरले आफ्ना अभिभावक र जन्मभूमिको महत्त्व दर्शाउँदै एउटा सुखी परिवारमा अचानक आउने महाविपत्तिका कारण उत्पन्न हुने मर्मस्पर्शी पारिवारिक कथाको सस्पेन्स सिर्जना गरेको छ। Artistical Entertainment को ब्यानरमा बनेको यस चलचित्रका निर्माता वसन्त लम्साल हुन्।




