आयोजक सेतोलाई तेस्रो अमन स्मृति फुटबलको उपाधि

पोखरा, ४ माघ ।
पोखरा रामबजार १५ मा जारी तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक भ्याली स्पोर्ट्स क्लब सेतोल जितेको छ ।
पोखरा महानगरपालिका – १५ कोलपाटनको रेम्बो एकेडेमी होम्सको खेल मैदानमा आज भएको फाईनल खेलमा एलजी एशोशियसनलाई २–० गोलले पराजित गर्दै आयोजक टिमले उपाधि जितेको हो ।
उपाधि सँगै भ्यालीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता एलजी एसोसिएसनले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ७५ हजार रुपैयाँमा चित्त बुझायो ।
भ्यालीको जितमा घनश्याम तामाङले खेल शुरु भएको ३ मिनेटमा गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । आयोजकको लागी दोस्रो गोल खेलको ३६ औ मिनेटमा अजय श्रेष्ठले गरेका थिए ।

यस अघि भएको सेमिफाइनलमा एलजीले सँगमलाई र आयोजक भ्यालीले गार्डेनलाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भ्यालीका अजय श्रेष्ठ घोषित हुँदै नगद १२ हजार रुपैयाँ प्राप्त गरे भने सोही क्लबकै सर्वाधिक गोलकर्ता सुनिल गोदामे घोषित हुँदै नगद ७ हजार रुपैयाँ प्राप्त गरे । उनले प्रतियोगिता अवधिभर ९ गोल गरेका थिए ।

बिजेता तथा उपबिजेता टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा, कास्की जिल्ला फुटबल सँघ (एन्फा) अध्यक्ष मिलन गुरुङ, प्रयोजकहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका राखेप सदस्य राजेश गुरुङले बिजयी टिमलाई बधाई ज्ञापन गरे । भ्यालीले आगामी दिनमा समेते प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै आफुले सक्दो सहयोग गर्ने बताए । उनले पोखरा रंगशाला निर्माण पछि सेभेन ए साईडको समस्या हल हुने धारणा राखे ।

कास्की जिल्ला फुटबल सँघ (एन्फा) अध्यक्ष मिलन गुरुङले सेभेन ए साइड फुटबललाइ हेप्ने गरेको टिप्पणी गरे । संघ भित्रको विकृतिले गर्दा फुटबल खेलको विकास नभएको उनले बताए । पहिले संघमा बल समेत नदिने प्रवृती निकै मौलाएको अवस्थामा पछिल्लो समय खेल सामग्री संघले काठमाडौ लिन जान नपरेको उनले धारणा राखेका थिए ।
उक्त प्रतियोगितामा फुटबल खेलको विकासमा निरन्तर लागेका भन्दै सेभेन ए साइड महासँघका अध्यक्ष नविन पुनलाइ सम्मान समेत गरिएको आयोजकले जनाएको छ ।

Advertisment