पोखरा। जेठ २४ गतेको त्यो दिउँसो पोखरा महानगरपालिका वडा नं. १५ मेरिगोल्डकी मनिसा थापाको घरमा अन्य दिनजस्तै सामान्य थियो। घरमा मनिसाकी सानो छोरी मात्र थिइन्। ठ्याक्कै दिउँसोको २:१८ बजेको समयमा एक अपरिचित व्यक्ति घरको ढोकामा आइपुग्छ।
“म झ्याल ढोका बनाउनको लागि नाप्न आएको हुं,” उसले भन्यो। सबै कुरा यति स्वभाविक देखिन्थ्यो कि ती अबोध बालिकाले उसलाई मिस्त्री नै ठानेर भित्र पस्न दिइन्। तर, ती व्यक्ति घर बनाउने मिस्त्री नभएर घरभित्रै ‘डकैती’ गर्ने योजनाका साथ आएका अपराधी थिए। भित्र छिरेपछि झ्यालढोका नापेको बहाना गर्दै उनी सरासर कोठाभित्र पसे, दराज तोडफोड गरे र त्यहाँ रहेका सुनका बहुमूल्य गरगहना तथा नगद रु. १३,००० लिएर फरार भए। बालिका केहीबेर अत्तालिइन्, छिमेक र परिवारले चाल पाउँदा चोर भागिसकेको थियो।
प्रविधिको फन्दामा ‘हाई-टेक’ चोर
दिउँसै घरमा पसेर बालिकालाई झुक्याउँदै भएको यस चोरीको घटनाले कास्की प्रहरीलाई ठूलो चुनौती थपिदियो। सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतको वडा प्रहरी कार्यालय रामबजारको टोली तुरुन्तै एक्सनमा उत्रियो।
प्रहरीले परम्परागत शैली मात्र अपनाएन, प्राविधिक अनुसन्धान (सिसीटिभी फुटेज, मोबाइल लोकेसन तथा अन्य डिजिटल प्रमाण) लाई तीव्र बनायो। अनुसन्धानको सुई सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नं. १७ स्थायी घर भई हाल काठमाडौँको कागेश्वरी मनहरा-९, शिवनगर टोल बस्ने ३५ वर्षीय भुवन बहादुर साह शंकरतर्फ मोडियो।
काठमाडौँबाट पोखरा प्रहरीको ‘अपरेसन’
कास्की प्रहरीको टोली सुराकी पछ्याउँदै काठमाडौँ आइपुग्यो। असार ४ गते वडा प्रहरी कार्यालय रामबजार र प्रहरी प्रभाग काँडाघारी काठमाडौँको संयुक्त टोलीले काँडाघारीस्थित साहको कोठामा छापा मारेको थियो ।
प्रहरीले उनलाई कोठाबाटै रंगेहात पक्राउ गरि उनको कोठाबाट चोरी भएका तिलहरी, चन्द्रमा, झुम्का, औँठी, चाँदीका बाला तथा ठूलो परिमाणमा नगद बरामद भएको छ । अचम्मको कुरा त के छ भने, प्रहरीले घटना गराएको समयमा उनले लगाएको ज्याकेट र पाइन्ट समेत बरामद गरेको छ, जसले उनी नै घटनास्थलमा थिए भन्ने कुराको प्रमाण बलियो भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (DSP) बीरेन्द्र पासवानले बताए ।
६ लाख ५० हजारमा बिक्री: रिसिभर पनि कस्टडीमा
प्रहरी हिरासतमा पुगेपछि साहले अर्को ठूलो रहस्य खोले। उनले चोरी गरेका सुनका बालाहरू काठमाडौँकै मुलपानी बस्ने ३५ वर्षीय बिराज सुनारलाई रु. ६,५०,००० (छ लाख पचास हजार) मा बिक्री गरिसकेका रहेछन्। चोरीको सामान खरिद गर्ने पनि कानुनी रूपमा उत्तिकै दोषी हुने भएकाले प्रहरीले तत्कालै सिन्धुपाल्चोक घर भएका सुनारलाई पनि नियन्त्रणमा लिएको छ ।
बरामद भएका सामानहरूको विवरण: सुनजस्तो देखिने पहेँलो धातु: तिलहरी (१ थान), चन्द्रमा (१ थान), कानको झुम्का (२ थान), औँठी (३ थान), र मुन्द्रा (१ थान)।
चाँदीजस्तो देखिने सेतो धातु: बाला (४ थान), सिक्का (२ थान), र सिक्री (१ थान)। नगद: रु. ८१,५००।– (एकासी हजार पाँच सय)।
अन्य: वारदातको समयमा आरोपितले लगाएको ज्याकेट र पाइन्ट १/१ थान।
कानुनको कठघरामा
हाल कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा दुवै प्रतिवादीहरूलाई दिन छ (६) को म्याद थप गरी हिरासतमा राखिएको छ। प्रहरीले यस घटनाको गहिरो अनुसन्धान गरिरहेको र यस्ता अन्य घटनामा पनि उनीहरूको संलग्नता छ कि भन्ने कोणबाट खोजी भइरहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (DSP) बीरेन्द्र पासवानले जानकारी दिएको छन ।




