प्रतिनिधि सभा विघटनको विरोध गर्दै स्थानीय तहमा काँग्रेसको विरोध सभा

काठमाडौँ, माघ ४ गते । प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेपाली काँग्रेसले शनिबार देशका ७५३ वटै स्थानीय तहमा प्रदर्शन र विरोध सभा गरेको छ । प्रधानमन्त्रीले पुस ५ गते गर्नुभएको प्रतिनिधि सभा विघटनलाई ‘असंवैधानिक र अलोकतान्त्रिक’ भएको आरोप लगाउँदै काँग्रेसले विरोध सभा आयोजना गरेको हो ।
काँग्रेसले शनिबार काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाहरूमा विरोध सभाको आयोजना गरेको छ । ती कार्यक्रमलाई काँग्रेसका केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गर्दै न्यायालयले सबैलाई न्याय दिने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँको वसन्तपुरमा आयोजित कार्यक्रममा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्न पाउने संवैधानिक व्यवस्था नै नभएको बताउनुुभयो । उहाँले प्रतिनिधि सभाको विघटन संविधानको भावना र मर्मविपरीत भएको दाबी गर्नुभयो ।
नेता सिंहले काँग्रेसको नेतृत्वमा आएको संविधानको रक्षा गर्न काँग्रेस जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको चर्चा गर्नुभयो । तत्कालीन राजा ज्ञानेन्द्रले शाही आयोगको गठन गर्दा पनि सर्वोच्च अदालतले त्यसलाई खारेज गरेको स्मरण गर्नुहुँदै उहाँले न्यायालयले सबैलाई न्याय दिने विश्वास व्यक्त गर्नुभयो । पूूर्वउपप्रधानमन्त्री सिंहले भन्नुुभयो, “न्यायमूर्तिलाई पनि यो देशको माया छ, यहाँको स्थिरता र शान्ति खल्बलिन्छ कि भन्ने चिन्ता छ, त्यसैले न्यायालयले सबैलाई
न्याय दिन्छ ।”
ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले पुनस्र्थापना भए संसद्मा भूमिका निर्वाह गर्ने र निर्वाचनमा जाने निर्णय भएमा वैशाखमै निर्वाचन गराउन काँग्रेस लागिपर्ने बताउनुुभयो ।
यसैगरी अर्को एक सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य गगन थापाले पाँच वर्षका लागि बनाएका प्रधानमन्त्रीले जनतालाई सडकमा जान बाध्य पारेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधि सभा विघटनको दोषी प्रधानमन्त्री मात्र होइन, प्रचण्ड, माधव र झलनाथ पनि उत्तिकै जिम्मेवार छन् । सर्वोच्च अदालतलाई संविधानको धाराले जन्माएकाले अदालतले विवेक पु¥याएर जनतालाई न्याय गर्ने नै छ ।” यसैबीच शनिबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवाले वक्तव्य प्रकाशित गरी ७५३ वटै पालिकामा आयोजित विरोध सभामा सहभागी सबैलाई हार्दिक धन्यवाद दिँदै माघ ८ गते ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोधमा उत्रिन अपिल गर्नुभयो ।

Advertisment