गण्डकीमा काेराेना विरुद्धको खोप कार्यक्रम सुरु

सचिन रानाभाट
लेखनाथ १४, माघ । गण्डकी प्रदेश सरकारले संचालनमा ल्याएको संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथ वाट कोभिड —१९ विरुद्दको खोप कार्यक्रम शुरु भएको छ ।
सरकारले देशव्यापी रुपमा बुधबार देखी शुरु गरेको भ्याक्सीन कार्यक्रम सामाजिक विकास मन्त्री नरदेवी पुन को प्रमुख आतिथ्यतामा संक्रामक तथा सरुवा रोग अस्पतालमा पनि खोप कार्यक्रम सुरु भएको हो।

सरकारले पहिलो चरणमा कोरोना खोप स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलगायत कोभिड-१९ महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिएकाहरुलाई लगाउने निर्णय गरेपछि संक्रामक तथा सरुवा रोग अस्पतालमा पहिलो खोप अस्पतालका निर्देशक डा. बिकाश गौचनलाई लगाईएको छ।
पहिलो चरणमा सम्पूर्ण सरकारी, गैरसरकारी, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी गरी १७ हजार ६३० जनालाई खोप दिइने भएकाे सामाजिक मन्त्रालयले जनाएकाे छ ।

खोप कार्यक्रममा पोखरा महानगरपालिका कार्यालयका स्वास्थ्यकर्मीहरु, निजी क्षेत्रका स्वास्थ्यकर्मीहरु, मादी र रुपा गाँउपालिकाका स्वास्थ्यकर्मीहरु समेत गरि जम्मा १२१९ जनालाई खोप सेवा दिने लक्ष्य राखिएको छ । बुधबार मात्रै १४४ जना लाई खोप लगाईएको अस्पतालका सुचना अधिकारी केदारनाथ लामिछानेले जानकारी दिएका छन् ।

कोरोना खोप प्रत्येक व्यक्तिलाई दुई डोज दिइने र पहिलो मात्रा लिएको एक महिनापछि अर्को मात्रा दिइने जनाइएको छ । गण्डकीमा पहिलो चरणमा ३९ हजार १३९ मात्रा खोप प्राप्त भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

Advertisment