युनाईटेड खबर, पोखरा । “जनताको घरदैलोमै पुगेर सेवा दिनु नै स्थानीय सरकारको वास्तविक अर्थ हो” भन्ने मूल मर्मका साथ कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ को आयोजनामा सञ्चालित तीन दिने एकीकृत घुम्ती सेवा शिविर भव्य रूपमा सम्पन्न भएको छ। 
पोखरा–१, सिमपानीस्थित तान्चोक नौजे पंगीलामा परिवार गुरुङ समाजघरमा यही भाद्र २२, २३ र २४ गते सञ्चालन भएको शिविर अत्यन्तै आत्मीय, सौहार्दपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको वडा कार्यालयले जनाएको छ। शिविरमा वडा नं. ७ का साथै वडा नं. ६ का नागरिकहरूको समेत सहभागिता रहेको थियो। 
राजस्व सङ्कलन र सेवा प्रवाहको विवरण
तीन दिनसम्म सञ्चालित शिविरबाट नागरिकहरूले घरदैलोमै सहजरूपमा सेवा प्राप्त गरेका छन्। शिविरमा भूमि (मालपोत) कर सेवा: १७५ वटा (रु. १,१५,०००/- राजस्व सङ्कलन)
सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण: २५६ वटा अन्य सिफारिस सेवा: ११ वटा रहेकाछन । 
सेवा मात्र होइन, पुराना साथीभाइ भेट्ने थलो
नागरिकलाई प्रशासनिक सेवा दिनुका अतिरिक्त यो शिविर वर्षौँपछि पुराना साथीभाइ, आफन्त र इष्टमित्र भेट गराउने चौतारी बनेको थियो। शहर केन्द्रित जीवनशैलीका कारण टाढा भएका ज्येष्ठ नागरिक तथा बाबा-आमाहरूले शिविर स्थलमा बाल्यकालका साथीहरू भेटेर पुराना दिनका सुख-दुःख साट्ने अवसर पनि भएको तान्चोक नौजे पंगीलामा परिवारका अध्यक्ष राजु गुरुडले जानकारी दिनुभयो । 
कार्यालयका अनुसार, कागजी प्रक्रिया र कर सङ्कलन मात्र नभई टुटेका भेटघाटहरू जोड्न र पुराना सम्बन्धहरूलाई पुनर्जीवित गराउन यो शिविर कोसेढुङ्गा साबित भएको
स्थानीय सरकारको प्रतिबद्धता
नागरिकले सेवा लिन दिनहुँ कार्यालय धाइरहनुपर्ने बाध्यतालाई अन्त्य गर्दै आगामी दिनमा पनि यस्ता जनमुखी र प्रभावकारी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता वडा कार्यालयले जनाएको छ।
शिविर सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, तान्चोक नौजे पंगीलामा गुरुङ समाजका पदाधिकारी तथा स्थानीयवासीहरूलाई अन्नपूर्ण गाउँपालिका वडा नं. ७ र गाउँ कार्यपालिकाको कार्यालयले विशेष धन्यवाद ज्ञापन गरेको वडाध्यक्ष तथा गाउंपालिकाका प्रवक्ता भरतमान गुरुडले जानकारी दिनुभएको छ।
शिबिरमा सहभागी हरुलाई ब्यवस्थित गर्न तान्चोक नौजे पंगीलामा परिवारका पदाघिकारी, सदस्यहरु स्वयंसेवकका रुपमा खटिएको परिवारका कोषाध्यक्ष बिनोद गुरुडले जानकारी दिनुभएको छ । शिबिर बिगतका बर्षहरु झै यस पटक पनि प्रभावकारी र ब्यवस्थित ढंगले सन्चालन गरिएको परिवारका सह-सचिब शान्ति कुमारी गुरुडले प्रष्टयाउनुभएको छ ।




