अन्नपूर्णका विनोदबहादुर कुँवर सचिवमा बढुवा, प्रदेश प्रमुख सचिवको जिम्मेवारी

पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिकाका स्थायी बासिन्दा विनोदबहादुर कुँवर नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) पदमा बढुवा हुनुभएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवमा कार्यरत (कुँवर)लाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
लामो समयदेखि निजामती सेवाका विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएका कुंवर केही वर्षदेखि सहसचिवको रूपमा कार्यरत हुनुहुन्थ्यो।

सचिवमा बढुवासँगै सरकारले वहांलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ। यसअघि वहांले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न सङ्घीय मन्त्रालय, प्रदेशका मन्त्रालय तथा अन्य सरकारी निकायहरूमा महत्वपूर्ण जिम्मेवारी सफलताका साथ निर्वाह गरिसक्नुभएको छ। आफ्नो जन्मथलो अन्नपूर्ण गाउँपालिकाको समग्र विकास निर्माण र सामाजिक रूपान्तरणमा सचिव कुंवरले निरन्तर सहयोग गर्दै आउनुभएको स्थानीय बासिन्दाहरू बताउँछन्।

उत्तरकुमार खत्री सुदूरपश्चिमको प्रमुख सचिव
मन्त्रिपरिषद् बैठकले दुई जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको हो। (विनोदबहादुर कुँवर)सँगै अर्का सहसचिव उत्तरकुमार खत्री पनि सचिवमा बढुवा हुनुभएको छ। उहाँलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गरिएको छ।
शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति
यसैगरी सरकारले शिक्षक सेवा आयोगका रिक्त पदाधिकारीहरू नियुक्त गरेको छ। आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साल, सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौँकी विष्णु घिमिरे (रिमाल)लाई नियुक्त गर्ने निर्णय गरिएको छ।
संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीको भ्रमण स्वीकृत
सरकारले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।
बिहीबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आगामी असोज ६ देखि १० गतेसम्म हुने महासभामा प्रधानमन्त्री शाहको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने जानकारी दिनुभयो।

Advertisment