आमहड्ताल अपडेट : १५७ जना पक्राउ, १४ सवारी साधनमा तोडफोड

काठमाडौं, माघ २२ गते ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले आव्हान गरेको देशव्यापी आमहड्तालले जनजीवन प्रभावित गरेको छ । उपत्यकामा थोरै मात्रमा सार्वजनिक यातायातका साधन सञ्चालनमा रहेको र अवरोध गर्न खोज्ने १ सय ५७ जना जनालार्ई पक्राउ गरीएको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताउनुभयो ।काठमाडौं उपत्यकामा मात्रै ८० जना अवरोध गर्न खोज्ने व्यक्तिलाई पक्राउ गरिएको प्रवक्ता कुँबरले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

राजधानी बाहिर हेटौंडा, नारायणगढ लगायतका क्षेत्रमा सञ्चालित सवारी साधन तथा ट्रकमा ढुङ्गा प्रहार भएको र बिहान काठमाडौंको सामाखुशीमा ट्याक्सीमा आगजनी भएको उहाँले बताउनुभयो ।

देशका विभिन्न ठाउँमा एक सरकारी गाडी सहित १४ वटा गाडीमा ढुङगा प्रहारबाट क्षति भएका अहिलेसम्म जानकारी आएको प्रवक्ता कुँवरले बताउनुभयो । उपत्यकामा माइक्रोबस लगायतका सार्वजनिक सवारी साधनमा प्रहरी खटाइ सुरक्षा दिइएको र केही सार्वजनिक यातायात सञ्चालनमा रहेको बताउनुभयो । संवैधानिक निकायमा भएको नियुक्ति लगायतका विषयलाई लिएर सो समूहले आज देशभर आमहड्तालको घोषणा गरेको थियो ।

यसैबीच, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहीबार घोषणा गरेको आम हड्तालको प्रभाव झापामा न्यून देखिएको छ । झापाका प्रमुख बजारहरु दमक, बिर्तामोड, काकडभिट्टा, सुरुगाका बजारहरु खुला नै रहेका थिए ।
पूर्वपश्चिम राजमार्गमा सार्वजनिक यातायातका सवारी साधनहरु नचले पनि नीजि सवारी साधनहरु चलेका थिए । शहरी क्षेत्रका केही विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द रहे पनि अधिकांश खुला नै रहेका थिए ।
इलाका प्रशासन कार्यालय, दमक नगरपालिका, मालपोत कार्यालय, नापी कार्यालय लगायतका सरकारी कार्यालयहरु खुला नै रहेका थिए । आमहड्ताल भनिए पनि यसको खास प्रभाव यातायात बाहेक अन्य क्षेत्रमा देखिएको थिएन ।
बन्दकर्ताहरुको एक समूहले झापाको बिर्तामोडमा एउटा नीजि सवारी साधन भने तोडफोड गरेका छन् । नेकपाका कार्यकर्ताले मे. १ च १९४२ नम्बरको गाडी रोक्न खोज्दा केही बेर तनाव भएको बताइएको छ ।
उनीहरुले उक्त नीजि गाडीको सिसा फुटाइदिएका थिए । तोडफोडमा एकजना आन्दोलनकारी घाईते बनेको पनि जनाइएको छ । नेकपाका विद्यार्थी नेता मदन भण्डारी घाईते भएको र उनको उपचार भइरहेको बताइएको छ ।

Advertisment