काँग्रेस अदालतको निर्णय अनुसार अगाडि बढ्छः महामन्त्री कोइराला

टीकाबहादुर बस्नेत
दाङ, फागुन ४ गते । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतको निर्णय अनुसार नेपाली काँग्रेस अगाडि बढ्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले मंगलबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले भन्नुभयो, ‘नेपाली काँग्रेस अदालतको निर्णय अनुसार अगाडि बढ्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको मुद्दा अदालतमा रहेकाले उक्त निर्णय अनुसार हामी अगाडि बढ्छौं ।’
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले जनतामा निराशा पैदा भएको भन्दै महामन्त्री कोइरालाले जनतामा आशा जगाउन काँग्रेस लागिपर्ने बताउनुभयो । नेपाली काँग्रेस चुनावबाट भाग्न नसक्ने भन्दै महामन्त्री कोइरालाले चुनाव हुने अवस्था आएमा चुनावमा भाग लिने बताउनुभयो । ‘अहिले चुनाव हुने अवस्था नै छैन । प्रधानमन्त्री ओलीले चुनाव गराउन चाहेका छैनन् । उनले अलमल्याउने काम गरिरहेका छन् । अहिलेको आवश्यकता संसद पुनःस्थापना हो’, महामन्त्री कोइरालाले भन्नुभयो ।
नेपाली राजनीतिमा मौलाउँदै गएको ओली सर्वसत्तावादका जन्मदाता प्रचण्ड र माधव नेपाल नै भएको बताउनुभयो । ‘ओलीको सर्वसत्तावादको बिरुद्धमा हामी संयुक्त जनआन्दोलनमा जाँदैनौं । आज प्रचण्ड माधव नेपालले प्रधानमन्त्री ओलीको सर्वसत्तावादका बिरुद्ध संयुक्त आन्दोलन गरौं भनिरहनुभएको छ । सर्वसत्तावादका जन्मदाता प्रचण्ड नेपालसँगै आन्दोलनमा सहकार्य हुँदैन’, महामन्त्री कोइरालाले भन्नुभयो, ‘हामी एक्लै अगाडि बढ्न सक्षम छौं । उनीहरुसँग हाम्रो सहकार्य हुँदैन ।’
विश्वबाट समाप्त भइसकेको कम्युनिष्ट शासनलाई स्थापित गर्नमा नेपाली कांग्रेसले इतिहासमै ठूलो कमजोरी गरेको भन्दै महामन्त्री कोइरलाले कम्युनिष्टलाई सरकारमा ल्याउनका लागि कुनै आन्दोलन नगर्ने बताउनुभयो । धर्मको विषयमा जनमत संग्रह हुनुपर्ने भन्दै महामन्त्री कोइरालाले काँग्रेस सरकारका गएमा यो मुद्दालाई लिएर जनमत संग्रह गराउने बताउनुभयो । ‘धर्मनिरपेक्ष र सापेक्ष नभई स्वतन्त्र हुन्छ । संविधानमा धर्मलाई निरपेक्ष भनेर उल्लेख गर्नु कमजोरी हो । यो विषयलाई जनतामाझ लिएर जानुपर्दछ’, महामन्त्री कोइरालाले भन्नुभयो, ‘काँग्रेसको सरकार भएमा हामी यो मुद्दालाई उठाउँछौं ।’ नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, दिपक गिरीलगायतका नेताहरुको सहभागिता थियो । पत्रकार सम्मेलनको सहजीकरण युनियनका निवर्तमान सचिव देवेन्द्र बस्नेतले गर्नुभएको थियो ।

Advertisment