पाहार ट्रष्ट नेपालको आठौं वार्षिक साधारणसभा सम्पन्न , आउदो वर्ष करिब साढे ८ करोडको कार्यक्रम प्रस्तावित

पोखरा, ९ फागुन
पाहार ट्रष्ट नेपालको आइतवार पोखरामा आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नं. ८ शिवालयमार्गमा कार्यालय रही नेपालले नेपालको ग्रामीण क्षेत्रहरुमा शैक्षिक विकास, स्वास्थ्य सेवा र सामाजिक विकासमा विशेष योगदान दिएको संस्था पाहार ट्रष्टको साधारणसभाको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.८ का वडाध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गर्नुभएको भयो।

विद्यालय भवन, स्वास्थ्य चौकी, विद्यालय छात्रबास, पुस्तकालय भवन, बालविकास भवन तथा शौचालय लगायतका भौतिक निर्माण र शैक्षिक छात्रवृत्ति, विविध शैक्षिक सहयोग, विभिन्न तालिम प्रदान गर्दै आएको पाहार ट्रष्टको उन्नति प्रगतिको शुभकामना दिनुहुदै प्रमुख अतिथि बरालले दुर्गम ग्रामीण क्षेत्रमा शैक्षिक, स्वास्थ र सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै ट्रष्टको प्रशंसा गर्नुभयो। सरकारको दृष्टि नपुगेको क्षेत्रमा गैरसरकारी संस्थाले महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै पाहार ट्रष्ट उदाहरणीय संस्था भएको उहाँको दावी थियो। विगतमा निर्माण गरेका भौतिक संरचनाहरुको मर्मत संहारका साथै दिगो संचालनका लागि सरकार र स्थानियसँग पाहार ट्रष्टको समन्वयको जरुरी रहेको उहाँको भनाई थियो।

शुभकामना व्यक्त गर्नुहुदै पाहार ट्रष्ट नेपालका संस्थापक अध्यक्ष तथा संरक्षक चन्द्रबहादुर गुरुङले शिक्षाको पुर्वाधार विकासका साथै गुणस्तरीय शिक्षा, स्वास्थ्यका लागि भौतिक निर्माणसँगै पाहार ट्रष्टले विभिन्न तालिम, क्षमता अभिवृद्धि, छात्रवृत्ति वितरण, शैक्षिक सामग्री वितरण लगायतका गतिविधी गर्दै आएको जानकारी दिनुभयो। उहाँले संस्थाले ग्रामीण क्षेत्रको शैक्षिक र स्वास्थ्य क्षेत्रको विकासका लागि गरिएका कार्यहरुमा पारदर्शिता अप्नाइएको बताउनुभयो।

पाहार ट्रष्ट नेपालका एक परिकल्पनाकार एवम प्रमुख सल्लाहकार क्या.पुर्णबहादुर गुरुङ Þयोल्मोले संस्थाको ऐतिहासिकता र विगतको योगदानलाई सम्झनुपर्ने सुझाव दिनुभयो। ट्रष्ट स्थापनाको ऐतिहासिकता जानकारी गराउदै पाहार ट्रष्टका संस्थापक अध्यक्ष टम ल्याण्डग्रिजसँग गोर्खा सेनाकालमा भेट, सम्बन्धसँगै मितेरी नाता, भुपूको छोराछोरी अध्ययन गर्ने एक विद्यालय निर्माणको सोंचसहितको योजनाले पाहार ट्रष्ट नेपाल जन्माएको बताउनुभयो।उहाँले ट्रष्ट विशुद्ध सेवामुलक, पारदर्शी र सबैलाई समान सम्बन्ध राख्ने संस्था भएको दावी समेत गर्नुभयो।

राष्ट्रिय बाल अधिकार परिषदका सदस्य तथा ट्रष्टका आजिवन सदस्य भिमलाल गुरुङले शुभकामना व्यक्त गर्नुहुदै ग्रामिण भेकका बालबालिकाको अधिकार संरक्षण गर्ने, राजनीतिक प्रभाव नपरेको, भूपु सैनिकहरुको नेतृत्वमा इमान्दार र पारदर्शि ढंगबाट संचालित सेवामुलक संस्था पाहार ट्रष्ट भएको भन्दै प्रसंशा गर्नुभयो।

तमु धिं नेपालका अध्यक्ष तथा कास्की आवाजका सम्पादक हुमबहादुर गुरुङले अत्यन्तै उदाहरणीय कार्य गर्दै आएको संस्थालाई शुभकामना भन्दा पनि गरिदै आएको सेवाको दिगोपनको शुभेच्छा प्रकट गर्नुभयो। पाहार ट्रष्टको क्षेत्र विस्तारका साथै उहाँले भौतिक पुर्वाधार विकाससँगै बौद्धिक, परामर्शदाता र अब नेपालको शिक्षा र स्वास्थ क्षेत्रको पाठ्यक्रम, निती र योजना बनाउन सरकारलाई सघाउने संस्थाको रुपमा पनि विकास गर्न सुझाउनुभयो। लाहुरे सँस्कृति, गोर्खा समुदाय र शिक्षाको आवाश्यकतासँगै पाहार ट्रष्ट स्थापना भई सेवा प्रदान गरिरहेको संस्थाको अभियानलाई राज्यले सघाउनुका साथै पाहार ट्रष्टबाट तिनै तहका सरकारले पनि पाठ सिक्नुपर्ने बताउनुभयो।

शिक्षकहरुको तर्फबाट स्याङजा सिर्सेकोट देउराली आधारभुत विद्यालयकी प्रधानाध्यापक गौमती गुरुङले शुभकामना व्यक्त गर्नुहुदै नेपाल सरकारले गर्न नसकेका कार्यहरु दुर्गम क्षेत्रलाई कार्यक्षेत्र बनाएर पाहार ट्रष्टले उदाहरणीय सेवा प्रदान गरेको भन्दै प्रसंशा गर्नुभयो। पाहार ट्रष्टको सेवा आफ्नो विद्यालयले पनि प्राप्त गरेकोमा खुशी व्यक्त गर्नुभयो।

अर्का शिक्षक कास्की मादी गाँउपालिकास्थित छाचोक माविका प्रधानाध्यापक गोपाल सापकोटाले शुभकामना व्यक्त गर्नुहुदै आफु ६, ७ कक्षा अध्ययन गर्दै देखि पाहार ट्रष्टको उदाहरणीय कार्यबाट प्रभावित भएको बताउनुभयो। उहाँले पाहार ट्रष्टले काम गर्छ प्रचार खोज्दैन, संस्थामा राजनीति हुदैन, ट्रष्टको काम सरकारी योजना जस्तो झष्झटिलो हुदैन, पारदर्शि भएको र ग्रामीण भेक पाहार ट्रष्टबाट ऋणी भएको बखान गर्नुभयो।

कार्यक्रममा पाहार ट्रष्ट नेपालका कार्यसमिति सदस्य गोकर्ण कार्की पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा निर्वाचित, कार्यसमिति सदस्य क्या.मिनजंग गुरुङ कादुरीको डारेक्टरमा नियुक्त, कार्यसमिति सदस्य बिष्णुहरी शर्मा रोटरीयनको जिम्मेवारी बहन र खगेन्द्र जंग गुरुङले नयाँ आजीवन सदस्यता ग्रहण गरेको भन्दै सम्मान गरिएको थियो।

साधारणसभामा पाहार ट्रष्ट नेपालका महासचिव कृष्णबहादुर गुरुङले वार्षिक प्रगति प्रतिवदेन प्रस्तुत गर्दै संस्था स्थापनाको ३० वर्षमा नेपालका ग्रामीण भेकका २१ जिल्लामा करिब २७० शिक्षा, स्वास्थ्य, पुस्तकालय, बालविकास, शौचालय भवन निर्माण गर्नुका साथै ७ जिल्लाका ५३ वटा विद्यालयहरुमा पुस्तकालयहरु स्थापना गरी सेवा प्रदान गरेको बताउनुभयो। उहाँको प्रतिवेदनमा समावेश गरिएको गतवर्षभर १४ विद्यालय भवन निर्माण कार्य, विविध शैक्षिक सहयोग कार्यक्रम, पुस्तकालय परियोजना कार्यक्रम, पुस्तकालय भवन निर्माण कार्यक्रम एवम व्यवस्थापन, तालिमहरु, शैक्षिक छात्रवृत्ति लगायतको विवरणात्मक प्रस्तुति पारित गरिएको थियो।

यसरी नै कोषाध्यक्ष रिना रानाले तयार गर्नुभएको आर्थिक प्रतिवेदन छलफल गरी पारित गरिएको थियो।

यसरी नै पाहार ट्रष्ट नेपालकी मेनेजर कान्ता घलेले आर्थिक वर्ष २०७७÷०७८ का लागि प्रस्तावित कार्यक्रमहरु तथा अनुमानित बजेट सधारणसभाले पारित गरेको थियो। प्रस्तावित करिब साढे ८ करोड बजेटमा विद्यालय भवन, स्वास्थ्य केन्द्र भवन निर्माणका ११ वटा योजना, कर्मचारी कार्य क्षमता अभिवृद्धि तालिम, शैक्षिक छात्रवृत्ति, बालविकाश केन्द्र सहयोग कार्यक्रमसहित पुस्तकालय विकास कार्यक्रममा ११ वटा नयाँ विद्यालयहरुमा पुस्तकालय स्थापना, १३ वटा दोश्रो र तेश्रो वर्षका पुस्तकालयहरुमा थप पुस्तक सहयोग, नयाँ विद्यालयहरुमा पुस्तकालयहरु व्यवस्थापका लागि स्थलगत सर्भेक्षण, पुस्तकालय शिक्षकहरुलाई पुस्तकालय व्यवस्थापन तालिम, हस्तान्तरण भएका ३० वटा पुस्तकालयको वार्षिक अनुगमन गरिने कार्यक्रमहरु रहेकाछन्।

पाहार ट्रष्ट नेपाल युके, क्रेन ट्रष्ट युके, कादुरी फाउण्डेशन, जिडब्लुटी दातृ संस्थाहरु रहेको पाहार ट्रष्ट नेपालका अध्यक्ष धनबहादुर गुरुङको दुखद निधनमा श्रद्धाञ्जली अर्पण गरिएको साधारणसभाको अध्यक्षता कार्यवाहक अध्यक्ष बिजुलीबहादुर गुरुङ, स्वागत ट्रष्टका सचिव भगवान पन्त र संचालन कार्यसमिति सदस्य लक्ष्मी थापा गीरिले गर्नुभएको थियो।

Advertisment