जेठ २० मा अन्नपूर्ण म्याराथन हुने, अन्नपूर्ण पर्यटन महोत्सव लाई निरन्तरता दिनेछाैं – ललित गुरुङ

पाेखरा । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण पदमार्गमा तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वरा अन्नपूर्ण आरोहण दिवस अर्थात् अन्नपूर्ण डे को अवसरमा वि.स. २०७५ सालदेखि आरम्भ गरिएको म्याराथन गत वर्ष कोभिड–१९ का कारण हुन सकेको थिएन । यद्यपि अहिले स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरी अन्नपूर्ण म्याराथन सहित अन्नपूर्ण पर्यटन महोत्सव समेतलाई निरन्तरता दिन लागिएको समतिका अध्यक्ष ललित गुरुङले जानकारी दिए । उनका अनुसार आगामी जेठ १८ देखि २० गतेसम्म तीन दिन कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुनेछ ।

अन्नपूर्ण म्याराथन भने जुन तेस्रो तारिख अर्थात् जेठ २० गते अन्नपूर्ण आधारशिविरबाट आरम्भ भई घान्द्रुकमा आई टुङ्गिनेछ ।
सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस हर्जोंगले पहिलो पटक अन्नपूर्णको सफल आरोहण गरेका गरेपछि अन्नपूर्ण हिमाल चर्चा विश्वभरि नै चुलिएको थियो । म्याराथनमा पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जितेका थिए भने दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाटले जितेका थिए ।
अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगत ३ वर्षदेखि निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गर्दै आएको बताउँदै अध्यक्ष गुरुङले अहिलेको प्रतिकूल परिस्थितिका कारण गतबर्ष कार्यक्रम स्थगन भए पनि यस वर्षमा पूर्वनिर्धारित समयानुसार नै कार्यक्रमलाई निरन्तरता दिइने जानकारी गराउनुभयो ।
कार्यक्रमका लागि विभिन्न सरकारी र गैरसरकारी सङ्घसंस्थाबाट विनियोजन हुँदै आएको रकम यस वर्षमा पनि निरन्तरताका लागि सम्बन्धित निकायसँग समितिले अनुरोध पनि गरेको छ ।
विश्वव्यापी बनेको कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रणका लागि जारी बन्दाबन्दीले यहाँको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको धाराशायी बन्दै गएको अर्थतन्त्रलाई माथि उकास्न पर्यटन क्षेत्रको पुनरुत्थान गर्न म्याराथन आयोजना गरिएको होटल व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष एवं अन्नपूर्ण म्याराथनका संयोजक किसम गुरूङको भनाई छ ।

Advertisment