संगम मा.बि चन्द्रकाेटमा पुर्ब विद्यार्थीद्वारा रेनकोट वितरण

पाेखरा । कास्की जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं. ६ (साबिकः लुम्ले गा.वि.स. वडा नं. ४) चन्द्रकोट स्थित श्री संगम माध्यमिक विद्यालयका विद्याथीहरुलाई रेनकोट वितरण गरिएको छ ।
पूर्व विद्यार्थी मञ्च संगम मा.वि.को सहयोगमा उक्त रेनकोटहरु वितरण गरिएको हो । बर्षायामको समयमा बिद्यार्थीहरुको पाठ्यसामाग्री भिज्ने समस्या समाधानका लागि ७० थान रेनकोट वितरण गरिएको जनाइएको छ ।
रेनकोटकोे प्रयोगले अगामी दिनमा विद्यालय आउदा जाँदा वर्षाले किताब–कापी बिगार्ने डर र चिन्ताबाट आफूहरु मुक्त भएको बताउदै विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । साथै रेनकोट सहयोगका निम्ति विद्यालयका प्रधानाध्यापक टेकनाथ पोखरेलले मञ्चलाई धन्यवाद दिएका छन् ।
विभिन्न दाताहरुसँग समन्वय गरी पुर्व विद्यार्थी मञ्चले विगतका वर्षहरुमा पनि विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई छात्रवृत्ति, झोला, स्टेशनरी, खेलकूद पोशाक, खेलकूद सामाग्री आदि सहयोग वितरण गर्दै आइरहेको छ ।
बि.सं. २०२८ सालमा स्थापित श्री संगम मा.वि. चन्द्रकोटमा हाल कक्षा ६ देखि १० सम्म ७० जना विद्यार्थीहरु अध्ययनरत छन् । कोभिड–१९ महामारीले गर्दा विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन हुन नसकिरहेको अवस्थामा विद्यालयले अनलाईन कक्षा सञ्चालन गर्ने तयारी समेत गरेको छ । सोको लागि हालै अन्नपूर्ण गाउँपालिकाबाट प्राप्त ६ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोगमा कम्प्यूटर, ल्यापटप र आवश्यका फर्निचरहरु खरिद गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन गुरुङ्गले जानकारी गराउनु भयो ।
साथै, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबाट प्राप्त करीब ९४ लाख रुपैयाँको सहयोगमा विद्यालयमा हालसालै १ तले ४ कोठे पक्की भवन, बालमैत्री शौचालय र खानेपानी व्यवस्थापन योजना निर्माण सम्पन्न भएको छ । नयाँ भौतिक पूर्वाधारको सुविधाले विद्यालयको पठनपाठनमा सहजता आउने विश्वास गरिएको पूर्व विद्यार्थी मञ्च संगम मा.वि. चन्द्रकोटका कोषाध्यक्ष आश बहादुर गुरुङ्गले जानकारी दिनुभएकाे छ ।
प्रकाशित मिति- २०७८/४/२४ गते

Advertisment