युआरएल पत्रकारिता पुरस्कार बास्तोलालाई

पोखरा, २३ मंसिर
पत्रकार हरिप्रसाद बास्तोलालाई यस वर्षको युआरएल पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले बिहीबार आयोजना गरेको वार्षिकोत्सव समारोहमा गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले उनलाई पुरस्कृत गरिन् । पुरस्कार राशि नगद २० हजार र ताम्रपत्र छ ।
पत्रकार बास्तोला राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत छन् । गण्डकी प्रदेशको पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कार स्वास्थ्य बिटमा गण्डकी प्रदेशलाई केन्द्र बनाएर क्रियाशील १ पत्रकारलाई हरेक वर्ष प्रदान गर्ने गरिन्छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री गुरुङले जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिन सरकार प्रतिवद्ध रहेको बताइन् । महामारीले यो क्षेत्रमा निकै ठूलो चुनौती थपेको उल्लेख गर्दै उनले निजी क्षेत्रसँग सहकार्य गर्दै सरल र सुलभ तवरले स्वास्थ्य सेवा प्रदान गरिने उल्लेख गरिन् । उनले स्वास्थ्य क्षेत्रमा कुनै अव्यवहारिक नीति, नियम, कानुन भए, तिनलाई परिमार्जन गरिने बताइन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति एवं चिफ कन्सल्टेन्ट फिजिसियन प्राडा बुद्धिबहादुर थापाले पछिल्लो समय नेपालले स्वास्थ्य क्षेत्रमा निकै फड्को मारेको बताए । उनले राजधानी र विदेश पठाउनुपर्ने रक्त परीक्षण पोखरामै उपलब्ध गराउने युआरएल जस्ता प्रयोगशाला हरेक प्रदेश र जिल्ला जिल्लामा स्थापना हुनुपर्ने विचार राखे ।
प्रतिष्ठानका सिनेटर मीनबहादुर गुरुङले राज्यका नीति, नियम र मापदण्ड पालना गरी युआरएलले गुणस्तर सेवामा छुट्टै पहिचान बनाएको बताए । युआरएल पत्रकारिता पुरस्कार छनोट समिति संयोजक दीपेन्द्र श्रेष्ठले साढे ३ दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार बास्तोलालाई पुरस्कृत गर्दा पत्रकारिता क्षेत्र नै सम्मानित भएको बताए । नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले प्रदेश सरकारलाई बिमामा सबै प्रदेशवासीलाई आवद्ध गर्न र नमुना प्रदेश बनाउन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले युआरएलले गुणस्तरीय सेवासँगै सेवा प्रवद्र्धनका लागि सामाजिक कार्य र सञ्चार माध्यमसँग सहकार्य गरी नमुना काम गरेको जनाइन् । अफिन गण्डकी प्रदेश अध्यक्ष अशोक पालिखेले स्वास्थ्य क्षेत्रमा सरकारभन्दा ३ गुणा बढी हिस्सा निजी क्षेत्रको भए पनि सरकार निजी क्षेत्र मैत्री हुन नसकेको गुनासो गरे ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले राज्यका मापदण्ड पालना गर्दै गुणस्तरीय सेवा दिएर प्रदेशलाई प्रयोगशाला क्षेत्रमा आत्मनिर्भर बनाउन लागिपरेको जनाए । उनले ५ करोडभन्दा बढी लगानी गरी हालै पोखराको हस्पिटलचोकमा शाखा सञ्चालन गरिएको उल्लेख गरे ।
युआरएलका निर्देशक सन्दीप अर्यालले आफूहरुले सेवापछिको नाफामा विश्वास गर्ने जनाए । उनले गुणस्तरीय सेवा दिन कर्मचारीलाई तलिम, क्वालिटी अडिट जस्ता विधि अपनाइएको जानकारी दिए । युआरएलका अर्थ निर्देशक गणेश कोइरालाले संसारकै सर्वाेत्कृष्ट प्रविधि, दक्ष जनशक्ति र सेवाग्राहीको विश्वासले युआरएल यहाँसम्म आएको बताए ।
यो पुरस्कारबाट अहिलेसम्म पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ बञ्जारा, सुरेन्द्र पौडेल र प्रदीप पौडेल सम्मानित भइसकेका छन् ।
पोखराको सभागृहचोकमा प्रधान कार्यालय रहेको युआरएलले शाखा कार्यालय हस्पिटलचोकसहित दुलेगौंडा, दमौली, बेशीसहर र वालिङमा सेवा विस्तार गरेको छ । हालसम्म ४ लाखभन्दा बढीलाई सेवा दिइसकेको युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी १ सयभन्दा बढी स्वास्थ्य शिविर र सचेतना कार्यक्रम गरेको छ ।

Advertisment