पोखरा । पोखराको फिस्टेल माउन्टेन कलेजले यसै शैक्षिक सत्रदेखि साइबर सुरक्षा शिक्षासम्बन्धी स्नातक तह (Bachelors) को नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ। बेलायतको युनिभर्सिटी अफ वोल्भरह्याम्प्टनको सम्बन्धनमा सञ्चालन हुन लागेको यो चार वर्षे (आठ सेमेस्टर) कोर्ष पोखरामा पहिलोपटक सुरु हुन लागेको हो।
सोमबार पोखरामा आयोजित एक छलफल कार्यक्रममा कलेजका अध्यक्ष सुलभ बुढाथोकीले नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम ल्याइएको जानकारी दिए।
कलेजका मुख्य विशेषताहरू:
सुलभ शुल्क: बेलायतमा अध्ययन गर्दा करिब एक करोड रुपैयाँसम्म खर्च हुने यो कोर्ष नेपालमै करिब ८ लाख रुपैयाँमा पूरा गर्न सकिनेछ।
सीमित सिट: गुणस्तरीय शिक्षाका लागि पहिलो चरणमा ३० जना विद्यार्थी मात्र भर्ना गरिने ।
उद्योगसँग सहकार्य: व्यावहारिक सीप र रोजगारी सुनिश्चितताका लागि कलेजले भैरव टेक, इनरेड ल्याब्स तथा बेलायतस्थित साइबर युनिभर्ससँग रणनीतिक साझेदारी गरेको छ।
देशभरका काठमाडौं र विराटनगर लगायतका क्षेत्रपछि यो कार्यक्रम अब पोखरामा पनि विस्तार गरिएको हो। डिजिटल प्रविधिको विकाससँगै साइबर जोखिम बढिरहेको अवस्थामा कलेजले कृत्रिम बुद्धिमत्ता (AI), बिग डेटा, क्लाउड कम्प्युटिङ र साइबर सुरक्षामा दक्ष जनशक्ति उत्पादन गर्दै पोखरालाई देशकै प्रमुख सूचना प्रविधि केन्द्र (IT Hub) का रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिएको फिस्टेल माउन्टेन कलेजले जानकारी दिएको छ ।




