पोखरा, २७ चैत्र
तमुहरुको ऐतिहासिक पर्व ट्होटें चैत्रको अन्तिम मंगलवार चैत्र २९ गते तमु धिं नेपालको आयोजनामा पोखरामा धुमधामका साथ मनाउने भएको छ।वर्षमा दुई पटक चैत्र र साउनको तिन मंगलवार तमु गाँउ, ह्युलमा मनाउदै आएको ट्होटें पोखरामा तमु धिं नेपालको अगुवामा सामुहिक रुपमा चैत्र र साउनको अन्तिम मंगलवार मनाउदै आएको छ।
तमु नास(गाँउ), ट्हो(बस्ती), ह्युल(राज्य)को सुरक्षाका साथै बैरीहरुलाई सिमा कटाउदै सभ्य तमु ह्युलका लागि मनाउदै आएको परम्परागत पर्व ट्होटें सामुहिक रुपमा तमु धिं नेपालको आयोजनामा विगत देखि पोखरामा मनाउदै आएको हो।
उघौलीको रुपमा मनाइने ट्होटें यस वर्ष पोखरासभा गृहमा भेला भई विभिन्न झाँकी, बाजागाजा,साँस्कृतिक प्रस्तुतिसहित मौलिक भेषभुषमा सभागृहचोक, लखनचोक, नयाँबजार हुदै तमु धिं नेपालको प्राङ्गणमा समारोह गरिने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिनुभयो।
कोरोनाको महामारीले गर्दा विगत दुई वर्ष सांकेतिक रुपमा मात्रै मनाइएको ट्होटें यस पटक भने भव्यताका साथ मनाइने साँस्कृतिक समितिका संयोजक कृष्णकुमार गुरुङले बताउनुभयो। तमुहरुको ऐतिहासिक एवम पौराणिक पर्व ट्होटें गाउँबस्ती र समाजहरुले गएका तिन हप्ता विभिन्न तरिका मनाए भने अन्तिम मंगलवार सामुहिक रुपमा तमु धिं नेपालको आयोजनामा मनाइदै आएको र ट्होटें तयारी अन्तिम चरणमा पुगेको संयोजक गुरुङले बताउनुभयो।
ऐतिहासिक, साँस्कृतिक एवम मौलिक महत्वका साथ सभ्य समाज निर्माण गर्ने एकता र सद्भावको पर्वको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आमन्त्रण गरिएको गुरुङले बताउनुभयो।
ट्होटेंको ऐतिहासिक महत्वका साथै एकता र सँस्कृतिको विकासका लागि तमु धिं नेपालले तत्कालिन युवा संयोजक हितकाजी गुरुङको संयोजकत्वमा विसं २०५२ सालदेखि तमु धिंले सामुहिक रुपमा ट्होटें मनाउदै आएको हो।
चैत्र २९ गते पोखरामा ट्होटें पर्व मनाइदै
April 10, 2022
554
Advertisment



