नेपालका लागि भारतीय राजदूतमा श्रीवास्तव आउंदै

जेष्ठ ४, २०७९ । नयाँदिल्ली — भारतले नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेको भोलिपल्ट विदेश मन्त्रालयले श्रीवास्ताव राजदूतमा नियुक्त भएको जानकारी सार्वजनिक गरेको हो । विदेश मन्त्रालयमा अतिरिक्त सचिव रहेका श्रीवास्तव पूर्वी एसीया विभागको प्रमुख थिए । उक्त विभागले चीन, जापान, उत्तर कोरिया, दक्षिण कोरिया र मंगोलियासँगको कूटनीतिक सम्बन्धलाई हेर्छ ।
श्रीवास्तवले यसअघि कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसकेका थिए । उनी चीन विज्ञका रूपमा परिचित छन् । उनी सन् २०२० यता भारत र चीनबीच सीमा विवाद र लद्दाख क्षेत्रमा दुई देशका सैनिकबीच भएका झडपका घटनापछि कैयौं वार्तामा भारतका तर्फबाट सहभागी भएका छन् ।

नेपाली राजनीतिमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव बढिरहेका बेला श्रीवास्तवको कार्यकाल चुनौतीपूर्ण हुन सक्ने हिन्दुस्तान टाइम्सले लेखेको थियो । मस्कोमा आयोजित सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलनका क्रममा भएको चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीचको साइडलाइन वार्तामा समेत श्रीवास्तव सहभागी थिए ।
नेपालमा रहेका राजदूत विनयमोहन क्वात्रा विदेश सचिवमा नियुक्त भएपछि नेपालमा उक्त पद खाली थियो । हर्षवर्द्धन शृंगलाले अवकाश पाएपछि भारत सरकारले क्वात्रालाई विदेश सचिवको जिम्मेवारी दिएको हो ।
#साभार – ईकान्तिपुर

Advertisment