कांग्रेस गण्डकी प्रदेशको ढोरपाटनका जनप्रतिनिधिलाई प्रशिक्षण

पोखरा, १६ जेठः नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिले बाग्लुङको ढोरपाटन नगरपालिकामा गठबन्धनका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई आज प्रशिक्षण दिएको छ ।
पोखराको तेर्सापट्टीस्थित नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको कार्यालयको सभाहलमा आयोजित प्रशिक्षणमा नवनिर्वाचित उपप्रमुख धनबहादुर कायत सहित जनप्रतिनिधिको सहभागिता थियो ।
निर्वाचनका क्रममा व्यक्त गरेका प्रतिवद्धतासँगै जनताका आवश्यकतालाई जनप्रतिनिधिले सम्बोधन गर्नुपर्ने जिम्मेवारी एवम् दायित्वबारे उनीहरूलाई बोध गराउने उद्देश्यका साथ प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जनप्रतिनिधिहरूले जनताको भावनालाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । जनताको विश्वास जित्नेगरी काममा जुट्न आग्रह गर्दै उनले जनताको शासक नभै सेवक हुँ भन्ने भावनाका साथ कृयाशिल बन्नुपर्ने आवश्यकता औंल्याए ।
ढोरपाटन नगरपालिकाका नवनिर्वाचित उपप्रमुख धनबहादुर कायतले जनअपेक्षा अनुसार काम गर्ने कुरामा आँफूहरू दृढ रहेको बताए । पोखरा र ढोरपाटनलाई पर्यटकीय रुपमा जोड्ेनुपर्ने आवश्यकता औंल्याउँदै उनले त्यसका लागि सहयोग गर्न आग्रह गरे ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद वास्तोला(मधु)द्वारा सञ्चालित कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछाने स्वागत गरेका थिए । नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रशिक्षण विभागका उपप्रमुख प्रा.डा.कुसुमाकर न्यौपानेले नेपाली काँग्रेसको सङ्कल्प र जनप्रतिनिधिको दायित्व सम्बन्धमा प्रशिक्षण दिए । उक्त अवसरमा स्थानीय जनप्रतिनिधिले जान्नुपर्ने कानुनी विषयमा कपिलमणि दाहाल, नेपाली काँग्रेसको सङ्कल्प र योजना, प्रशासन र आर्थिक कारोबार सम्बन्धमा जयराम पौडेल, जनप्रतिनिधिमा हुनुपर्ने नैतिकता, जिम्मेवारीता लगायतका विषयमा कमलराज सापकोटाले प्रशिक्षण दिएका थिए ।
उक्त अवसरमा पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले उद्धघाटन गरेको उक्त कार्यक्रममा नवनिर्वाचितलाई टिका तथा खादा लगाएर बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।

Advertisment