काँग्रेस गण्डकी प्रदेशको टिम म्याग्दीमा, गठबन्धन लाई जिताउन सभापति शर्माको आह्ववान

पोखरा, २९ कात्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी प्रदेशका विभिन्न जिल्ला पुगेको नेपाली काँग्रेस गण्डकी प्रदेश समिति सोमबार म्याग्दी पुगेको छ ।
प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी गराउने अभियानका साथ नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको नेतृत्वमा गोरखा जिल्लाबाट सुरु गरिएको अभियानमा जिल्ला जिल्लामा पुगी त्यहाँको वस्तुस्थिति, गठबन्धनको अवस्था लगायतमा जानकारी लिदै निर्वाचन लक्षित छलफल एवम् अन्तरक्रिया गरिएको प्रचार विभाग उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुभयो ।
अभियानको टोलीमा सभापति शर्मा सहित प्रवक्ता माधवप्रसाद बास्तोला(मधु), प्रचार विभाग प्रमुख रमेश पौडेल, उपप्रमुख शिरोमणि बराल, नेपाल प्रजातान्त्रिक(लोकतान्त्रिक) उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, महासचिव ईश्वरप्रसाद कर्माचार्य, सदस्य पदम पोखरेल लगायत हुनुहुन्थ्यो ।
म्याग्दीस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सभापति शर्माले प्रदेश अन्तर्गतका जिल्लाहरूमा पाँच दलीय गठबन्धनको अवस्था बारे जानकारी लिइएको बताउँदै गठबन्धनका उम्मेदवालाई विजयी गराउन अहोरात्र खट्न निर्देशन दिनुभयो ।
व्यक्ति व्यक्तिका जीवनमा परिवर्तन ल्याउने आँफूहरूको लक्ष्य भएको उल्लेख गर्दै समाज तथा राष्ट्रमा प्रजातान्त्रिक चरित्र स्थापित गराउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नै नेपाली काँग्रेसको मुल आदर्श भएको बताउँदै उहाँले प्रजातान्त्रिक आचारण र संस्कारबाट नै समाजको परिवर्तन सम्भव भएको बताउनुभयो ।
काँग्रेस गण्डकी प्रदेशले गण्डकीको समृद्धि र विकासका लागि संकल्पपत्र तयार गरेर अघि बढेको बताउँदै उहाँले पूर्वाधार विकाससँगै लगानी भित्राउने किसिमका योजना अघि सारिएको जानकारी दिनुभयो । उक्त अवसरमा सभापति शर्माले प्रदेश कार्यसमितिका तर्फबाट संकल्पपत्र, नमुना मतपत्र, झण्डा लागयातका समाग्री नेपाली काँग्रेस म्याग्दीलाई हस्तान्तरण गर्नुभएको थियो ।
नेपाली काँग्रेस म्याग्दीका उपसभापति एवम् पाँच दलीय गठबन्धन चुनाव प्रचारप्रसार समितिका संयोजक केवि भण्डारीले उत्साहका साथ आँफूहरू गठबन्धनका उम्मेदवारलाई विजयी गराउन लागेको जानकारी गराउनुभयो ।
नेपाली काँग्रेस म्याग्दकिो पूर्व सभापति एवम् संविधानसभा सदस्य रेशमबहादुर बानियांले जिल्लाको संगठनलाई बलियो बनाउने कुरामा ध्यान दिनुपर्ने बताउँदै प्रदेश तथा संघमा सम्मानजनक उपस्थिति हुनु जरुरी रहेको बताउनुभयो ।
नेपाल प्रजातान्त्रिक(लोकतान्त्रिक) उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष प्रजातन्त्रवादी व्यवसायीलाई संगठित गर्दै संघ गठन भएको बताउँदै व्यवसायीका हकहितमा पाँच दलीय गठबन्धनले आत्मसात गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सचिवद्वय हिराबहादुर पुन र भरतबहादुर रकाल लगायतले बोल्नुभएको थियो ।

Advertisment